आइतबार, बैशाख १६ २०८१

एसईईको तयारी अन्तिम चरणमा

एसईईको तयारी अन्तिम चरणमा


  • सक्रियखबर
  • सोमबार, चैत्र ५ २०८०

  • यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को तयारी अन्तिम चरणमा पुगेको छ ।

    राष्ट्रिय परीक्षा बोर्डले चैत्र १५ गतेदेखि हुन गइरहेको परीक्षाको तयारी अन्तिम चरणमा पुगेको जनाएको हो ।

    चैत १५ गतेबाट सुरु भई चैत २७ गतेसम्म परीक्षा सकिने बोर्डको परीक्षा तालिका छ । यो वर्ष देशभरबाट ५ लाख ३ हजार भन्दा बढी विद्यार्थीले एसईई दिन परीक्षा फाराम भरेका छन् । बोर्डले परीक्षाको लागि प्रश्नपत्र देशभरका ७४ जिल्लामा पठाइसकेको छ । काठमाडौँ उपत्यकाका तीन वटै जिल्लामा केही दिनमा पठाउने तयारी भइरहेको राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले बताए ।

    ७४ वटै जिल्लाका जिल्ला प्रहरी कार्यालयमा प्रश्नपत्र पठाइएको हो । काठमाडौँ उपत्यकाको हकमा २२\२३ वटा प्रहरी कार्यालयमा पठाउनुपर्ने भएकाले केही समय लागेको पौडेलले बताए ।

    ‘प्रश्नपत्र काठमाडौँ बाहेकका जिल्ला पुर्‍याइसकियो । काठमाडौँका प्रहरी चौकी चौकी पुर्‍याउनुपर्छ । यहाँ १\२ दिनमा जान्छ । यहाँ २२\२३ ठाउँमा पठाउनुपर्छ । भित्र ट्रकमा पठाउन मिल्दैन । सानो गाडीमा पठाउनुपर्ने हुन्छ । त्यो बाहेक प्रश्नपत्रबाहेकको प्रदेश र जिल्लाले गर्ने काम पनि भइरहेको छ’ पौडेलले भने ।

    जिल्ला प्रहरी कार्यालयमा पठाइएका प्रश्नपत्रहरू परीक्षा सुरु हुनुभन्दा केही समय अगाडि मात्रै सुरक्षासहित सम्बन्धित परीक्षा केन्द्रमा पठाइनेछन् । त्यस्तै उत्तरपुस्तिका समेत सातै प्रदेशबाट पठाउने काम भइसकेको छ । प्रश्नपत्र बोर्डले पठाउने गरेको छ भने उत्तरपुस्तिका प्रदेश सरकारले पठाउने गरेको छ । त्यस्तै परीक्षा सञ्चालन गर्न आवश्यक पर्ने खर्च समेत प्रदेश सरकारबाटै हुने परीक्षा नियन्त्रण पौडेलले बताए ।

    उत्तरपुस्तिका पठाउने, परीक्षा केन्द्रहरूमा परीक्षा सञ्चालन गर्न खर्च पठाउने काम पनि प्रदेश सरकारले गर्ने हो । यो वर्ष ५ लाख प्रश्नपत्र छापिएका छन् । परीक्षा फाराम भरेका सबै विद्यार्थीले परीक्षा दिन नआउने भन्दै बोर्डले ५ लाख मात्रै प्रश्नपत्र छापेको हो ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार