सोमबार, बैशाख १७ २०८१

पोखरा पर्यटकीय राजधानी घोषणा

पोखरा पर्यटकीय राजधानी घोषणा


  • सक्रियखबर
  • आइतबार, चैत्र ४ २०८०

  • केन्द्र सरकारलाई पटक-पटक आग्रह गर्दा पनि बेवास्ता गरेपछि गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाले पोखरालाई पर्यटनको राजधानी घोषणा गरेका छन् ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबार फेवाताल किनारमा आयोजित कार्यक्रममार्फत पोखरालाई पर्यटकीय राजधानी घोषणा गरेका हुन् । पर्यटकीय राजधानी घोषणापछि पोखरा संघ सरकारको नीति तथा कार्यक्रम र बजेटमा प्राथमिकता पर्ने, विदेशी र स्वदेशी लगानी आउने, पर्यटक आवागमन बढ्ने पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले दाबी गरे ।

    आइतबारदेखि पोखरा २४सैँ घण्टा खुल्ने मेयर आचार्यले बताए । यसका लागि प्रमुख जिल्ला अधिकारी नेतृत्वको सुरक्षा संयन्त्रको बैठकले ४३ मापदण्ड बनाएको र त्यसैअनुसार अब २४सै घण्टा खुल्ने उनले बताए ।

    गत कात्तिकमा उच्च अदालतले लेकसाइडलाई २४ घण्टा नै खोल्न अन्तरिम आदेश दिएको थियो । तर, त्यसको कार्यान्वयन हुन सकेको थिएन । मेयर आचार्यले लेकसाइडमात्र नभई मुख्य सबै चोक खुला राखिने जानकारी दिए ।

    पोखरालाई पर्यटकीय राजधानी घोषणा गरिदिन आग्रह गर्दै २०७५ सालयता गण्डकी प्रदेश सरकारले दुईपटक र पोखरा महानगरपालिकाले एकपटक संघ सरकारलाई आग्रह गरेका थिए । तर, मागअनुसार नभएपछि प्रदेश सरकार र महानगरपालिकाले भव्य कार्यक्रम गरेर पोखरालाई पर्यटकीय राजधानी घोषणा गरेका हुन् ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार