सोमबार, बैशाख १७ २०८१

ईश्वर दाहालको उपन्यास ‘मध्याह्न, झुल्के घाम र गोधूली’ सार्वजनिक

ईश्वर दाहालको उपन्यास ‘मध्याह्न, झुल्के घाम र गोधूली’ सार्वजनिक


  • सक्रियखबर
  • शुक्रबार, भाद्र १० २०७९

  • लेखक तथा सञ्चारकर्मी ईश्वर दाहालको उपन्यास ‘‘मध्याह्न, झुल्के घाम र गोधूली’ शुक्रबार सार्वजनिक गरिएको छ ।

    राजधानीको भृकुटीमण्डपस्थित पर्यटन बोर्डमा एक कार्यक्रमकाबीच उपन्यास सार्वजनिक भएको हो । उपन्यासलाई साहित्यकार बुद्धिसागर, पत्रकार बसन्त बस्नेत, समाजशास्त्री नारायणी देवकोटा र लेखक दाहालले संयुक्त रुपमा सार्वजनिक गरेका हुन्।

    साहित्यकार बुद्धिसागरले उपन्यासमा लेखकले चली आएको शैलीबाट मुक्त भई नयाँ शैली प्रयोग गरेको बताए । ‘उपन्यास सुरु कसरी भएको छ, त्यसपछि म पूरा पढ्ने कि नपढ्ने निर्धारण गर्छु । नेपाली भाषाका उपन्यासमा प्राम्भमा खासै काम हुन्न‌। तर उहाँले सुरूवात प्रभावकारी ढङ्गले गर्नुभएको छ । पुस्तकको कथा भन्ने शैली राम्रो लाग्यो,’ बुद्धिसागरले भने ।

    लेखक तथा पत्रकार वसन्त बस्नेतले ईश्वरको उपन्यासले पत्रकारको इतिहास लेख्न सकेको बताए ।‌ ‘इतिहासको ड्राफ्ट पत्रकारिताले कोर्ला । पत्रककारको इतिहास भने ईश्वर जीको उपन्यासले लेखेको छ,’ वसन्तले भने, ‘उहाँले पत्रकारिता जीवनमा आफू र आफूले भोगेको संघर्षलाई उपन्यासमा कथा बनाउनुभएको छ ।’

    समाजशास्त्री नारायणी देवकोटाले देशको राजनीतिक परिवर्तनलाई रोचक ढङ्गले लेखकले उपन्यासमा प्रस्तुत गरेको बताइन् । ‘उहाँको उपन्यासले पात्रको जिन्दगीबाट इतिहास भन्छ । किनारामा बसेर साक्षीले भन्दा ऐतिहासिक कुरा आउँछु,’ नारायणीले भनिन् ।

    उपन्यासका लेखक ईश्वरले आफूले देखेको र भोगेको परिवर्तनलाई उपन्यासका रुपमा लेखेको बताए । ‘समाजमा एउटा वर्गलाई अर्को‌ वर्गले सधैं प्रश्न उठाउँछ । जसले बढी प्रश्न उठाउँछ, ऊ बढी जवाफदेही हुनुपर्छ । तर, कालान्तरमा प्रश्न गर्ने मान्छे जवाफदेही नभएको पाएँ,’ ईश्वरले भने, ‘देशमा परिवर्तन भए पनि सामान्य मानिसको आँखाले कसरी हेरिरहेको छ त ? त्यही आम मान्छेको आँखाबाट हेरेर उपन्यास लेखेँ ।’

    उपन्यास सांग्रिला बुक्सले बजारमा ल्याएको हो ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार