सोमबार, बैशाख १७ २०८१

नेपाली माटोलाई मसी बनाई जय नेपाल लेखौं

नेपाली माटोलाई मसी बनाई जय नेपाल लेखौं


  • सह.प्रा.डा.विनु वावा अर्याल
  • बुधबार, असोज ६ २०७८

  •             ॐ शान्ति
                 राष्ट्रियता
    नेपाली माटोलाई मसी बनाई “जय जय नेपाल”लेखौं
    राष्ट्रियतालाई अवमूल्यन नगरौं
    राष्ट्रियतालाई भेद गरी, वर्गीकरण नगरौं मौसम वितरणमा नलैजाऔं
    राष्ट्रियता हाम्रो प्राण हो
    प्राण बिनाको शरीर त लास बन्दछ
    त्यस लास त गन्हाउँछ, छिट्टै फाल्नु पर्दछ
    नत्र वातावरण नै बिग्रन्छ
    राष्ट्रको अस्तित्वको तत्व नै राष्ट्रियता हो
    देशको माटो, जनसंख्या, भूमि, सरकारलाई जीवन्त बनाएर जीवन दिने राष्ट्रियता नै हो
    किन आज हामी नेपालीहरु
    राष्ट्रियताको प्रश्न मा एउटै आवाज,एउटै पाइला गर्न सक्दैनौं?
    किनकि हामी कि त अनपढ, गँवार सोच विहीन छौं
    कि त लोभी, पापी, भष्टाचारी छौं
    राष्ट्रियता मरेको जनताबाट देशको प्राण रहँदैन
    विभाजित दलले लिएको वादविवादले राष्ट्रियता रहँदैन
    तराजुको घटवढ मा राष्ट्रियता उभिदैंन
    राष्ट्रियतामा षडयन्त्रको भक्षण हुँदैन
    राष्ट्रियता त हाम्रो शरीर हो, शिरको टोपी हो, निधारको उज्यालो हो, अनुहारको चमक हो
    खुला हावामा गाइने स्वतन्त्र स्वाभिमानि गीत हो
    कसैको बन्देज, न कसैबाट पाएको सास्ती, दुःख पिडा नै हो
    यो त जीवनको मधुर गीत हो
    राष्ट्रले सबैलाई काखमा राखेर गाउने स्वाभिमानि गीत हो
    जे हो, राष्ट्रियता नै हो
    तर राष्ट्रियता मतको भिन्नतामा हुँदैन,
    दलको विभाजनमा हुँदैन
    किनकि हामीले फेर्ने सासमा,त्यहाँ
    कसैको राज हुँदैन, वादविवाद हुँदैन
    त्यो त स्वयं हो, त्यो नै हो जीवन
    जब शरीरबाट सास जान्छ, क्षणमा नै लास बन्दछ
    यही हो, राष्ट्रको राष्ट्रियता
    त्यसको कदर गरौं, समयमा नै औषधी मूलो गरौं
    मौसमी राष्ट्रबादीसँग भने सतर्क रहौँ
    हामी नेपालीको बेवकूफीमा,
    राष्ट्रको सासलाई लासमा परिणत नगरौं
    त्यस लासको गरगहना, महत्वपूर्ण अंगहरु लुच्छ्न,
    लुट्न आउँछन्, आउँदैछन्
    भोलिका पिढिलाई पनि अधमरो बनाउने पाइलालाई यही रोकौं
    गरिबी, दरिद्रता त केही होइन, कमाउन सकिन्छ
    नकमाएमा पनि केही फरक पर्दैन
    तर राष्ट्रियतामा आँच आयो भने, त्यो डुब्यो भने
    हाम्रो देश नेपाल पनि डुब्नेछ
    भोलिको पिढिको लागि हाम्रो देश इतिहासमा मात्र हुनेछ
    उनीहरूको सराप प्रशस्त हामीलाई लाग्नेछ
    अत: नेपालको स्वतन्त्र अस्तित्व, राष्ट्रको अखण्डता, स्वाधीनता बचाउन, राष्ट्रियतालाई बचाऔं
    “नेपाली माटोलाई मसी बनाई
    जय जय नेपाल लेखौं”
    राष्ट्रियताको टोपी लगाई
    विश्वमा स्वतन्त्र भई, स्वाभिमानी नेपाली बनौं
    २०७८ भाद्र २६


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार