Logo

२०८३, श्रावण २२ गते | Aug 07 2026

सरकारी कार्यालयले नै तिर्दैनन् खानेपानी महसुल

सरकारी कार्यालयले नै तिर्दैनन् खानेपानी महसुल

मंगलवार, श्रावण १५ २०८१
मंगलवार, श्रावण १५ २०८१
  • नेपाल खानेपानी संस्थान शाखा कार्यालय वीरगञ्जको आर्थिक वर्ष २०८०/८१ असार मसान्तसम्मको सरकारी कार्यालय तथा निजी ग्राहकको खानेपानी महसुलको बक्यौता रकम १२ करोड ३३ लाख ५७ हजार ४१८ पुगेको छ ।

    सरकारी कार्यालय तथा निजी घरमा संस्थानको खानेपानी लाइन जोडे पनि नियमित रूपमा खानेपानीको महसुल भुक्तानी नगर्दा बक्यौता रकम बर्सेनि वृद्धि हुँदै आइरहेको छ । बक्यौता रकममध्ये सरकारी निकायले तिर्नुपर्ने बक्यौता रकम ३ करोड ९८ लाख ९७ हजार सात सय ४८ रहेको छ भने निजी घरमा खानेपानी प्रयोग गरेबापतको तिर्नुपर्ने बक्यौता रकम ८ करोड ३४ लाख ५९ हजार छ सय ७० रकम बक्यौता कायमै छ ।

    कार्यालयका प्रमुख मन्दिप श्रेष्ठले वर्षौंदेखि सरकारी तथा निजी घरमा खानेपानीको लाइन जोडेर नियमित खानेपानीको महशुल भुक्तानी नगर्दा बक्यौता रकम बढेको बताए । 'सरकारी तथा निजी घरले खानेपानी उपयोग गरे पनि बक्यौता सवा १२ करोडभन्दा बढी छ', उनले भने, 'निजी मात्र होइन, वीरगञ्जका ४५ भन्दा धेरै सरकारी निकायका खानेपानीको बक्यौता पनि ४ करोड हाराहारीमा छ ।'

    कार्यालयका अनुसार नारायणी अस्पतालको मात्रै बक्यौता १ करोड ८४ लाख ७८ हजार नौ सय ७० छ । वीरगञ्ज महानगरपालिका र सो मातहतका वडा कार्यालयको बक्यौता १ करोडभन्दा बढी छ । ठाकुरराम क्याम्पसको ४९ लाख ६१ हजार चार सय १७ छ ।

    जिल्ला प्रशासन कार्यालय पर्साको पनि बक्यौता ३५ लाख १० हजार चार सय ४७ छ । कार्यालय प्रमुख श्रेष्ठले खानेपानीको बिलअनुसारको महशुल तीन महिनाभित्र भुक्तानी नगरेको खण्डमा ५० प्रतिशत जरिवाना लाग्ने प्रावधान रहेको बताए । 'खानेपानीको महशुल नतिर्ने निजी तथा सरकारी निकायलाई ताकेता गर्दै आइरहेका छौँ । तर अहिलेसम्म अपेक्षाकृत रूपमा बक्यौता रकम असुलउपर गर्न सकिरहेका छैनौँ,' उनले भने ।

    कार्यालयका अनुसार आव २०८०/ ८१ को असार मसान्तसम्मको अवधिमा यो कार्यालय मातहत ११ हजार एक सय ३९ घरपरिवारमा खानेपानीको लाइन जडान भएको छ । कार्यालयले गत आवमा सानाठूला गरेर २१ किलोमिटर लम्बाइको पाइप लाइन विस्तार गरेको जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to shakriyakhabar.com  | Site By : SobizTrend