लगातार एक साताको गिरावटपछि शेयरबजार परिसूचक नेप्सेमा सुधार आएको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से सूचक ६.११ अंकले बढ्दै २ हजार ५७६.२९ अंकमा उक्लिएको छ ।
यो मौद्रिक नीतिपछिको पहिलो सुधार हो । नेपाल राष्ट्र बैंकले गत २३ असार, २०८३ मा आगामी आर्थिक वर्ष २०८३/८४ का लागि मौद्रिक नीति सार्वजनिक गरेको थियो । सो दिन ३० अंकमाथिले नेप्से सूचक बढेकोमा मौद्रिक नीति लगत्तै भोलिपल्टदेखि निरन्तर घट्दै आएको थियो ।
शेयरबजारको एक साताको निरन्तरको गिरावट थामिदैँ मंगलबार भने ६ अंकमाथिको सुधार आएको छ । यस दिन कारोबारमा समेत उच्च वृद्धि भएको छ । नेप्सेका अनुसार आज ८ अर्ब ४१ करोड ७५ लाख ७० हजार रुपैयाँबराबरको १ करोड ८२ लाख ९३ हजार कित्ता शेयर दोस्रो बजारमा किनबेच भएको छ ।
आज म्यानु एन्ड प्रो समूह बाहेक १२ वटा उपसूचक धनात्मक भएका छन् । १६४ कम्पनीको शेयर मूल्य बढ्दा १०१ कम्पनीको शेयर मूल्य घटेको छ ।
