कोशी प्रदेशमा डेँगी नियन्त्रण चुनौतीका रूपमा देखापरेको चिकित्सक तथा स्थानीय निकायका पदाधिकारीहरूले बताएका छन् । बितेका चार महिनामा प्रदेशमा पाँच सय ८२ जना डेँगी सङ्क्रमित भएका छन् ।
प्रदेश स्वास्थ्य मन्त्रालयद्वारा बुधबार साँझ आयोजित मोरङका स्थानीय तहका प्रमुख उपप्रमुख, सरोकारवालालगायतको सहभागितामा भएको डेँगी नियन्त्रणसम्बन्धी कार्यक्रममा उक्त जानकारी दिइएको हो । डेँगी लागेर एक जनाको मृत्यु भएको छ ।
यो प्रदेशमा साउन १ देखि २९ सम्ममा तीन सय ३४ जना सङ्क्रमित थपिएका हुन् । धनकुटास्थित स्वास्थ्य निर्देशनालयका निर्देशक ज्ञानबहादुर बस्नेतका अनुसार उक्त अवधिमा मोरङमा एक सय ९९, झापामा ३३, धनकुटामा ३२, सङ्खुवासभामा ३०, भोजपुरमा २५, ओखलढुङ्गामा १०, खोटाङमा तीन र तेह्रथुममा दुई जना सङ्क्रमित भएका छन् ।
