मंगलबार, जेष्ठ १ २०८१

कोरोना विरुद्ध लड्न नगरका हर संयन्त्र चुस्त छन् : लवशेर विष्ट, मेयर, थाहा नगरपालिका

कोरोना विरुद्ध लड्न नगरका हर संयन्त्र चुस्त छन् : लवशेर विष्ट, मेयर, थाहा नगरपालिका


  • सक्रियखबर
  • बिहिबार, बैशाख ११ २०७७

  • कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणको सबालमा नगरपालिका को तयारी कस्तो छ ? भन्ने विषयमा थाहा नगरपालिका मकवानपुरका नगरप्रमुख लवशेर बिष्ट संग मातृका सुवेदीले गर्नुभएको कुराकानीको संपादित अंशः

    तपाईंको नगरपालिकामा कोरोना भाईरस रोकथाम तथा नियन्त्रणको तयारी कस्तो छ ?

    कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि नगरपालिकाको क्षमताले भ्याएसम्म काम भइरहेको छ । लकडाउन शुरु भएपछि हामीले यसको कार्यान्वयनका लागि कोरोना भाइरस रोकथाम तथा नियन्त्रण थाहानगर समन्वय समिति गठन गरेका छौं । समन्वय समितिको नगरस्तरीय सचिवालय समेत गठन भएको छ । यस्तै स्वास्थ्य सहयोग÷व्यवस्थापन गर्न स्वास्थ्य संयोजक तथा अन्य राहत तथा उद्धार, क्वारेन्टिन, खाद्यान्न आपूर्ति, दैनिक तथ्याङ्क संकलन तथा प्रतिवेदन तयारी र सम्बन्धीत निकायमा पठाउने सम्मको संरचना निर्माण गरी काम भैरहेको छ । यसका साथै नगर प्रवेश गर्ने नाकाहरुमा हेल्थ डेस्क स्थापना तथा स्वास्थ्य जाँच, दैनिक स्वास्थ्य संस्थाहरुमा जाँच भएका विरामीहरुको अवस्था विश्लेषणलगातयको कार्य गरी रोकथाम तथा नियन्त्रणका लागि नगरको तर्फबाट काम गरिरहेका छौ ।

    बिदेशबाट फर्केका या संक्रमण आशंका भएकाहरूको पहिचान र क्वारेन्टाइनमा राख्ने काम भयो ?

    हाम्रो नगरमा भारत लगायत अन्य देशहरुबाट समेत गरी शुरुमा ८० जना विदेशबाट आएका नागरिक थिए । त्यसमध्ये पहिलो लकडाउन अवधिमै स्थानीय तहसंगको समन्वयमा १० जना भारतीयहरु स्वदेश फर्किए । बाँकी ७० जना अहिले हाम्रो नगर क्षेत्रमा रहेका छन् । सबैभन्दा बढि भारतबाट फर्केका नागरिक रहेका छन् । स्वदेश फर्केकाहरु १० जनालाई पनि हामीले डाक्टर मार्फत स्वास्थ्य परीक्षण गरेर मात्र पठाएका हौ । बाँकी ७० जनाको घरघरमा डाक्टरसहितको टोली पुगेर स्वास्थ्य जाँच गरी सबैको ‘ट्राभल हिस्ट्र’ लिएका छौं । उनीहरुलाई होम क्वारेन्टिनमा बस्न भनेका छौं, निगरानीमा राखेका छौ ।

    हामीले दैनिक जोखिम विश्लेषण तालिका बनाएर त्यसका लागि कार्य योजनासहित काम गरिरहेका छौं । अहिले हाम्रो नगरपालिका क्षेत्रमा विदेशबाट आएको २१ दिन ननाघेको कोही पनि नागरिक छैनन्् ।
    हामीले आशंका लागेमा वा क्वारेन्टिमा राख्नुपर्ने अवस्था भएमा हामीसंग डाक्टरसहितको टोलीको २४ सै घण्टा व्यवस्थन गरेका छौँ । छ । पाँच वटा हाई केयर रुमसहित २५ वटा कोठासहितको क्वारेन्टिन तयारी अवस्थामा रहेको छ ।

    गरिब, मजदुर, कमजोर आर्थिक अवस्था भएकाहरूलाई राहत वितरण गर्ने काम के कसरी अघि बढिरहेको छ ?

    राहत वितरण गर्न र यसको सबै व्यवस्थापनमा सजिलो बनाउनको लागि कार्यविधि बनाएका छौं । कार्यविधिमा मापदण्ड तोकेका छौं । मापदण्डमा परेकाहरुलाई वडा कार्यालयले सिफारिस गर्छ । वडास्तरमा पनि समिति गठनको व्यवस्था हामीले कार्यविधिमै गरेका छौं । हाम्रो प्रत्येक वडामा कम्तिमा ४ वटा हुनेगरी क्लष्टर बनाएका छौं । ति क्लष्टरहरुले वडा समितिलाई रातह दिनूपर्ने व्यक्तिहरुको लागि सिफारिस गर्छन् । यस्तो सिफारिस हाम्रो बजार व्यवस्थापन समिति, टोल विकास समिति, नगरमा रही सामाजिक क्षेत्रमा काम गरिरहेका संघसंस्थाहरुले पनि गर्ने बाटो खुल्ला गरेका छौं ।
    अहिलेसम्म हामीले राहत दिनै पर्ने ४६ परिवारलाई राहत बाँडेका छौं । केही समस्या परिहाले राहतको अवस्था तथा व्यवस्थापन हेर्नका लागि भिन्दै फोकल पर्सन पनि तोकेका छौं । हामी पारदर्शी र नागरिकको सहज पहुँच कसरी गराउन सकिन्छ भन्ने कुरालाई केन्द्रमा रहेर राहतको कार्यक्रम संचालन गरिरहेका छौं । राहत पाउनै पर्ने नछुटुन्, अरुले पाएर दुरुपयोग नहोस भन्ने नितिमा छौं । लोकप्रियतालाई होइन, आवश्यकतालाई ध्यानमा राखेर राहत बाँड्छौं ।

    राजधानी लगायत देशका बिभिन्न शहरमा अलपत्र परेका आफ्ना नागरिकलाई पालिका भित्राउने बारे केही सोच्नुभाको छ ?

    हामी नागरिकलाई तुरुन्त नगरमा भित्र्याउने भन्ने प्राथमकितामा भन्दापनि उनीहरुको गाँस बास र कपासको सवालमा पहिलो चरणमा केन्द्रित छौं । पहिले त हाम्रा नागरिक कहाँ कहाँ छन् ? भन्ने कुरा पत्ता लगाउनु प¥यो । यसका लागि हामीले अनलाई सर्भे सिस्टम प्रयोगमा ल्याएका छौं ।
    स्वास्थ्यमा समस्या आए उपचारको लागि समन्वय गर्छौ । यति गरेपछि ऊ आफ्नो घरमा बसे जसरी ढुक्कसंग बस्न सक्छ । अब, अन्तिममा ति कुराहरु व्यवस्थापन हुन सकेन भने हामी उद्धारको चरणमा जान्छौं, प्रदेश तथा संघीय सरकारसंगको समन्वयमा ल्याउँछौं । हामी हाम्रो नागरिकलाई कहिँ कतै भोकै मर्न दिदैनौ, उद्धार गरेरै छाड्छौं ।

    ¥यापिड डाईग्नोस्टिक टेस्टबाट कोरोना परीक्षणको कामले कतिको तीव्रता पाईरहेको छ तपाईंको पालिकामा ?

    ¥यापिड डाईग्नोस्टिक टेस्टबाट हामीले विदेशबाट आएकाहरुलाई मात्र परीक्षण केन्द्रित गरिरहेका छौं । हामीलाई स्वास्थ्य कार्यालय मकवानपुरबाट पहिलो चरणमा ४० वटा र दोस्रो चरणमा थप ४० वटा किट प्राप्त भएको थियो । किटबाट हामीले हालसम्म विदेशबाट आउका ७० मध्ये ३९ जनाको परीक्षण गरिसकेका छौं । यो अभियान निरन्तर गरि पनि रहेका छौ । कुनै पनि लक्षण देखिएको छैन । हामीले परीक्षण गर्दा विदेशबाट आएको सबैभन्दा कम दिन भएकाहरुलाई प्राथमिकतामा राखेर लुईजना ल्याब टेक्निसियन र २ जना डाक्टरसहितको निगरानीमा परीक्षण गरिरहेका छौं ।

    स्वास्थ्यकर्मीहरूको स्वास्थ्य सुरक्षाका सबालमा तपाइँहरू कतिको सजग हुनुहुन्छ ?

    कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि अग्रपंक्तीमा रहेका स्वास्थ्यकर्मीहरुको सुरक्षाका लागि हामी संवेदनशील छौं । हामीले उनीहरुको सुरक्षाका लागि अपनाउनु पर्ने सुरक्षा सामाग्री व्यवस्थापन गरिदिएका छौं । असुरक्षाकै कारण उपचारमा कठिन हुन नदिन हामी हरतरहले लागि परेका छौं ।

    तपाइँको पालिकामा लकडाउनको अवस्था के छ ? स्थानीयहरूले कतिको साथ सहयोग दिइरहेका छन् ?

    स्थानीय प्रशासनसंगको समन्वयमा लकडाउनलाई व्यवस्थित गरिरहेका छौं । प्रत्येक वडामा खाद्यन्नलगायत अति आवश्यकीय वस्तुको कारोबार हुने व्यापारिक प्रतिष्ठान खोल्ने समय तोकिएको छ । नागरिकहरु रुटिनमा बजार जान्छन् । अन्य बेला बजार पुगे पसल खुल्दैन । भौतिक दुरी कायम गर्ने उपायहरु अवलम्बन गरेका छौं । लकडाउनलाई थप पालना र व्यवस्थित गर्न वडा तथा वडा मातहतमा रहेका क्लष्टरहरु सक्रिय छन् । यसमा नागरिकको पनि सहयोग उत्तिने रहेको छ ।

    गुनासा, समस्याहरू के कस्ता आऊँछन ? सम्बोधन कसरी गरिरहनु भएको छ ?

    नगरपालिकास्तरमा कोरोना भाइरस रोकथाम तथा नियन्त्रण सचिवालय छ । दिनदिनै सचिवालयको बैठक बस्छ । बैठकमा नागरिकहरुबाट आएको सवालहरुको विषयमा छनलफल हुन्छ, निर्णय हुन्छ र तुरुन्तै कार्यान्वयमा जाने व्यवस्था गरिएको छ । गरेका निर्णय र भएका कामको दिनदिनै रिपोर्ट तयार हुन्छ । तयार भएको रिपोर्ट प्रधानमन्त्रीको कार्यालय, गृह, प्रदेश मुख्यमन्त्रीको कार्यालय अन्य सरोकारवाला मन्त्रालयहरु, स्वास्थ्य कार्यालय, जिल्ला प्रशासन लगायतको निकायहरुमा पठाउने व्यवस्था गरिएको छ ।

    लकडाउनको मौका छोपि कालोबजारी मौलाएको जताततै सुनिन्छ । तपाईंको पालिकामा के छ स्थिति ?

    अहिलेसम्म यो गुनासो नगरपालिकामा आएको छैन । हामी खाद्यन्न ढुवानीलाई कसरी सहज गराउन सकिन्छ भनेर जिल्ला तथा स्थानीय क्षेत्रमा रहेका प्रशासनमा समन्वय गरेर सहजीकरण गरिरहेका छौं । नगरका ठूला खाद्यन्न विक्रेताहरुको स्टक हामीलाई दिनदिनै प्राप्त हुन्छ । बढिमा ३÷३ दिनमा दैनिक प्रतिवेदनमा विवरणहरु अद्यावधिक गर्छौ । प्रत्येक पसलमा मूल्य सूचीको अनिवार्य व्यवस्थालाई थप कडाई गरेका छौं ।

    जनताको सुरक्षा, स्थानीय सरकारको प्रत्याभूति, सहजताका लागी अरु केके कार्य भईरहेका छन ?

    खास गरेर हामीले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि र यससंग सम्बन्धीत सुरक्षाको विषयलाई ख्याल गरेर प्रचारप्रसार, सुरक्षाका उपायहरु लगायतको विषयमा उनीहरु माझ जनचेतना मुलक काम गरिरहेका छौं । लकडाउन भएपछि ज्येष्ठ नागरिक तथा दिर्घ रोगीहरुले नियमित सेवन गर्ने औषधिको समस्या समाधानको लागि वडामा विवरण संकलन गर्ने र सबै वडामा औषधि खरिद गरेर पु¥याउने व्यवस्था गरेका छौं । यसका लागि एकजना स्वास्थ्यकर्मी नै तोकेका छौँ । यसको साथै प्रत्येक वडाका क्लष्टरहरुमा रहेका फोकल व्यक्तिहरु जस्तै शिक्षकहरु, बजार तथा टोल विकास समितिका संयोजक र अध्यक्षहरु, वडा सदस्यहरु, लगायतका समुदायको नेतृत्व गरिरहेका व्यक्तिहरुलाई अभिमुखीकरण गर्ने काम भैरहेको छ । विपदका बेला लुटपाट तथा चोरी डकैतीका घटनाहरु हुन नहिन इलाका प्रहरी कार्यालयसंगको समन्वयमा विहान बेलुकाको गस्तीलाई थप बढाइएको छ ।

    अरु पालिकाहरूसंगको समन्वय र सहकार्यमा पनि केही कार्य भएका छन् ?

    विपदका बेला अन्य पालिकाहरुसंगको समन्वय महत्वपूर्ण हुने रहेछ । यो हामीलाई महसुस भएको छ । एक अर्को स्थानीयतहहरुमा सीमा निगरानी, रोजगारलगायतको विषयमा समन्वय हुँदा संक्रमण फैलन नदिन सहयोग पुग्ने रहेछ । यसका लागि हामीले समन्वयात्मक काम गरिरहेका छौं ।
    हामिले मकवानपुरको १० पालिकासंग एक अर्को स्थानीय तहबीच उत्पादित वस्तुलाई बजारिकरण कसरी गर्ने भन्ने विषयमा बहस शुरु गरेका छौं । केही पालिकाहरुमा म आफै पुगि सकेको छु । यसका लागि बागमती प्रदेश सरकारसंग पनि अनुरोध गरिसकेको छु । प्रतिक्रिया सकारात्मक छ ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार