मंगलबार, जेष्ठ १ २०८१

‘म, विमलेन्द्र र प्रकाशमानमध्ये एक जना सभापतिको उम्मेदवार हुन्छौँ’ : डा. शशांक कोइराला (अन्तर्वार्ता)

‘म, विमलेन्द्र र प्रकाशमानमध्ये एक जना सभापतिको उम्मेदवार हुन्छौँ’ : डा. शशांक कोइराला (अन्तर्वार्ता)


  • सक्रियखबर
  • शनिबार, असार २६ २०७८

  • नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले पार्टीको आगामी नेतृत्व दोस्रो पुस्ताका नेताले गर्ने बताएका छन् । न्युज एजेन्सी नेपालसँगको अन्तर्वार्तामा उनले पार्टी नेतृत्व हस्तान्तरण हुने बेला आइसकेकाले अबको नेतृत्व आफू, विमलेन्द्र निधि र प्रकाशमान सिंहमध्ये एक जनाले उम्मेदवारी दिने उद्घोष गरे ।

    पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले अभिभावकत्वको भूमिका निर्वाह गर्नुपर्ने भन्दै उनले नेताद्वयलाई आफूले त्यस किसिमको भूमिकाका लागि आग्रह गर्ने बताए । तेरो र मेरो भन्ने स्वभावका कारण सभापति देउवा पार्टीको सफल सभापति बन्न नसकेको टिप्पणी उनले गरे ।

    नेता पुत्रत्रयको भेटघाट गुट-उपगुटको अन्त्य गरी पार्टीलाई एकढिक्का बनाइ सहमतिका साथ सभापतिको उम्मेदवार चयनका लागि आवश्यक वातावरण बनाउने कार्यमा केन्द्रित भएको उनले स्पष्ट पारे । तीन नेताको भेटघाट पार्टीभित्र नयाँ शक्ति र गुट निर्माणका लागि नभई एकताको लागि भएको एउटा सफल र प्रभावकारी प्रयासको रूपमा बुझ्न पनि उनले सबैलाई आग्रह गरे ।

    प्रस्तुत छ आसन्न महाधिवेशन, क्रियाशील सदस्यता तथा नयाँ नेतृत्वका सम्बन्धमा कांग्रेसका महामन्त्री कोइरालासँगको अन्तर्वार्ताको सम्पादित अंश :

    आसन्न महाधिवेशनको तयारी कहाँसम्म पुगेको छ, व्यक्तिगत र संस्थागत रुपमा ?

    सबैभन्दा पहिला म पार्टीकै तयारीको कुरा गर्न चाहन्छु । अहिलेसम्म क्रियाशील सदस्यताको टुंगो लाग्न सकेको छैन । यो अन्त्य अन्त्य सम्म आइपुगेको छ । मलाई लाग्छ यो महिनाको अन्त्यसम्म क्रियाशील सदस्यताको अन्तिम टुंग्गो लाग्छ र एउटा खाका तयार हुन्छ, त्यसपछि हामी अधिवेशन तर्फ जान्छौँ । अहिले पार्टीको ध्यान नै क्रियाशीलतर्फ छ । आज पनि हाम्रो मिटिङ भएको थियो । क्रियाशील सदस्यतामा के गर्ने भनेर कुरा भएको थियो । केन्द्रीय सदस्यहरू रामचन्द्र दाइ, शेखर डाक्टर साहेब, मिनेन्द्र रिजाल र अन्य सदस्यहरू पनि हुनुहुन्थ्यो । हामी क्रियाशील सदस्यतालाई कसरी टुंगो लगाउने भनेर छलफल गर्दे थियौँ । क्रियाशील टुंगो नलगाइकन त हामी महाधिवेशनमा जान सक्क्तैनौँ । त्यही नै अवस्था हो ।

    क्रियाशील सदस्यता तत्काल टुंगो लाग्न सक्ने अवस्था देखिएको छैन । यसले महाधिवेशनलाई पो प्रभाव पार्छ कि भन्ने आशंका पैदा भएको छ । कि त्यो आशंका गलत हो ?

    यो महिनाभित्र क्रियाशील सदस्यता टुंगा लगाउन सकिएन भने त आशंका त भइहाल्यो नि । यति जटिल नि क्रियाशील सदस्यको बारेमा, हरेक जिल्लामा केही न केही छ । भन्छन् ४६ जिल्लामा भइसक्यो । त्यसमा पनि उजुरीहरू आएको छ, त्यसलाई पनि हेर्नुपर्‍यो । तसर्थ अहिलेको अवस्थामा भन्न सकिँदैन कि समयमा नै अधिवेशन हुन्छ कि हुँदैन । प्रश्न चिह्नचाहिँ छ । तर हाम्रो ध्यान त्यतैतिर गएको छ । र हामी क्रियाशील सदस्यता छिटो टुंग्याऊ भनेर भरमग्दुर प्रयास गर्दैछौँ ।

    अहिले शीर्ष नेताका तीन जना पुत्र नेताहरूको संयुक्त भेटघाटलाई लिएर विभिन्न विश्लेषण भएका छन् । अर्को गुट आउन खोज्यो अथवा शक्ति केन्द्रित गर्न खोजियो भनेर पनि टिप्पणी भएका छन् । खासमा के थियो तपाईंहरूको बैठकमा ?

    खासमा विमलेन्द्र निधिले नै इनिसियट गरेको हो । सबैभन्दा पहिले उहाँको वैवाहिक सम्बन्धको ३५ वर्ष भएको थियो । त्यो दिन प्रकाशमान सिं र मलाई बोलाउनुभयो । दोस्रो पटक यही मिटिङ गर्‍यौँ र तेस्रोपल्ट प्रकाशमानजीकोमा । हाम्रो भनाइ के थियो भने, हामी पनि एकै ठाउँमा उभिनुपर्‍यो । सभापतिका लागि हामी तीन जनामध्ये कोही लड्छ भने ठीकै भयो । हामीमध्ये एकता हुनुपर्‍यो भन्ने कुरा आयो । यसमा धेरै कुराहरू उत्पन्न छन् । एउटा कि विमलेन्द्र निधिले शेरबहादुरजीलाई छाड्नुभयो भने भन्ने पनि संकेत देखिन्छ । दोस्रो कुरा हामी तीनै जनामध्ये एक जना लड्ने, तर त्यत्तिले पुग्दैन । रामचन्द्र दाइ, शेखर दाइ हुनुहुन्छ, प्रकाशमान र म त छँदै छौँ । विमलेन्द्र निधि हुनुहुन्छ । मैले के भनेँ भने, हामी तीन जनाबाट पाँच जना गरौँ, पाँच जनाबाट सात जना गरौँ, ताकि हामी एउटै सूत्रमा बाँधिन सकौँ भन्ने धारणा हाम्रो थियो । तर यता आएर हाम्रो बीचमा केही छलफल भएको छैन ।

    हामी तीन जना एकठाउँमा उभियौँ भने वेभ पनि आउँछ र पार्टी सँगठनलाई राम्रो गर्छ भन्ने दृष्टिकोणले नै गर्नुभएको रहेछ विमलेन्द्र निधिले । राम्रो पनि भयो । नकारात्मक पक्षहरू पनि छन् तर त्योभन्दा भन्दै पनि हामीले तीनै जना एकै ठाउँमा (नेतापुत्रहरू) एकै ठाउँमा उभियो भने नेपाली कांग्रेस एकैठाउँमा आउँछ भन्ने संकेतचाहिँ प्रष्टै रूपमा दिएको छ ।

    मुलुकको समुल राजनीतिक अवस्था प्रतिकूल भएकाले नेतृत्व परिवर्तन नगरौँ भन्ने आवाज पनि छ फेरि यता नेतृत्व परिवर्तनका लागि तपाईंहरूको पहल पनि भइरहेको छ । ठयाक्कै समय आएको हो पुस्तान्तरण वा नेतृत्व परिवर्तनको ?

    समय त आएको छ । मेरो भनाइ के हो भने । अधिवेशन आउँदै छ । हामीले अधिवेशनमा नेतृत्व परिवर्तन गर्नुपर्छ । किनभने हाम्रो दूरदशा भएको छ अहिलेको अवस्थामा । यसलाई दृष्टिगत गरेर नेतृत्व परिवर्तन गर्नुपर्छ भन्नेमा हामी तीन जना नेता पुगेका छौँ । कसरी हुन्छ परिवर्तन ? कसले गर्छ परिवर्तन ? त्यो प्रश्न त आजसम्म यथावत नै छ । तसर्थ, हामी ३ जना, ५ जना, ७ जना हुदै समुहलाई ठूलो पार्दै गयो भने एकै ठाउँमा उभिन सक्ने संभावना हुन्छ । त्यसले पार्टीलाई  पनि मजबुत पार्छ । एकै ठाउँमा उभिँदा शक्ति पनि मिल्छ र एकजना मात्रै उम्मेदबार भयो भने हामी सजिलोसँग पुस्ता हस्तान्तरण गर्न सजिलो हुन्छ भन्ने ध्येयले हामीले यो प्रोग्राम सञ्चालन गरेको हो ।

    तीनै जना नेतृत्वको आकांक्षी हुनुहुन्छ, कि त व्यवस्थापन गर्न पर्‍यो, कि त तीनै जना लड्नुपर्‍यो । व्यवस्थापन गर्न सकिन्छ ? कुनै उपायहरू छन् ?

    यो त हामीबीचको वार्ताबाट नै समाधान हुनसक्छ । होइन भने त तीनै जनाले लड्नुपर्‍यो । वार्तामा बसेर कुनै टुंगोमा त पुर्‍याउनुपर्‍यो नि । हामीलाई लाग्छ कि नेतृत्व परिवर्तन हुनुपर्छ र हामी गम्भीर छौँ भनेर त एक जना मात्रै उभिनुपर्‍यो नि । तीनै जना उभियौँ भने त फेरि परिवर्तन हुँदैन । त्यसैले हामी तीन जनाले यति चाहिँ के भन्नुपर्‍यो भने हामीमध्ये एक जना उभियौँ भने चाहिँ सजिलोसँग हस्तान्तरण हुन्छ भन्ने कुराको पुष्टि हुन्छ भन्ने मलाई लागेको छ ।

    प्रश्न ? अनि त्यो समयमा रामचन्द्र र शेरबहादुरजीको व्यवस्थापन कसरी गर्नुहुन्छ  ?

    शेरबहादुरजीको त धेरै उमेर पनि भइसक्यो । रामचन्द्र दाइ पाको मान्छे हुनुहुन्छ । उहाँको राजनीति धेरै उतारचढाव भयो । तर मलाई लाग्छ उहाँले पनि अघि आएर अभिभावकको रूपमा लिनुपर्ने हो ठाउँ तर उहाँ पनि प्रत्यासी त हुनुहुन्छ । उहाँलाई हामीले सम्झाउन सक्नुपर्‍यो कि तपाईं अभिभावकको भूमिका खेलेर हामीलाई गाइड गर्नुहोस् । मलाई लाग्छ शेरबहादुरजीको पनि त्यही नै अवस्था देखिन्छ । धेरै बुढो भइसक्नुभयो । उहाँहरू कतिञ्जेलसम्म राजनीति गरिरहनुहुन्छ त ? अभिभावक बनेर हामीलाई गाइड गर्नुपर्ने बेलामा उहाँहरू आफै लड्ने विचार गर्दै हुनुहुन्छ । यसरी चाहिँ अप्ठयारो हुन्छ ।

    अहिले महामन्त्री हुनुहुन्छ । तपाईंको आफ्नो तयारी कस्तो छ ? आफ्नो उम्मेदवारीलाई कसरी स्थापित गर्नुहुन्छ ?

    सबै भन्दा पहिले त मैले अधिराज्यभरीका कांग्रेसका कार्यकर्ताहरूसँग भेटघाट गरिरहेको छु । उनीहरूको राय, सल्लाहा, सुझाव एउटा त्यो भयो । दोस्रो कुरा नेताहरूबीचमा पनि संवाद हुनु जरुरी छ । हुन त कुरा भईरहेको छ नभएको होइन । शेखर दाइ, प्रकाशमानजी, रामचन्द्रजी र विमलेन्द्र जीसँग पनि कुरा त भईरहेको छ । हामी यही आधारमा अगाडि बढ्यो भने हामी एउटा टुंगोमा पुग्छौ । म हुन्छु वा को हुन्छ । जो सुकै होस् एकजना उभिनुपर्छ अहिलेको दृष्टिकोण मेरो त्यही नै हो ।

    आफ्नो कार्याकालमा शशांक कोइरालाले बोल्नुपर्ने बेलामा बोलेनन्, कार्यकाल सकिएको समितिले भटाभट नियुक्तिहरू गर्यो , त्यसमा दहे गरि बोलेनन् । नेतृत्वले आफ्नो हिसाबले पेलेर नियुक्ति दिने, मनोनय गर्ने कुराहरू भए, त्यो बेला पनि बोलेनन् । जुन बेला नबोल्नुपर्ने थियो धर्मनिरपेक्षता लगायत विषयमा त्यसबेला बोले किन ?

    म भन्न चाहन्छु । एउटा त शेरबहादुर हाम्रो सभापति हाम्रो यत्रो हार भयो चुनावमा हरेकले उहाँलाई विरोध गरे । म मात्रै एउटा व्यक्ति थिएँ जसले उहाँलाई डिफेण्ड गरें । मैले के भनेँ भने उहाँको मात्रै गल्ति होइन । हामी पनि पदाधिकारीहरू हौ । हाम्रो पनि उत्तिकै गल्ती हो । मैले ढाल बने शेरबहादुर जीको । मैले शेरबहादुर जीलाई धेरै सेभ गरेको हो । र मैले नै विरोध गरिदिएको भए त पार्टी एक त छिन्नभिन्न छन् झन बिग्रेर जान सक्ने अवस्था देखेर मैले शेरबहादुर जीको ढाल बनेर उहाँलाई प्रोटेक्ट गरेको हुँ । नत्रभए त मैले पनि त बोल्न सक्थेँ नि । तपाईंले भन्नुभयो किन बोलिनस् भनेर ? त्यही उत्तर म तपाईंलाई दिदै छु । मैले बोलेको भए उहाँको विरोधमा बोल्नुपथ्र्यो । विरोधमा बोलेको भए अवस्था के हुन्थ्यो पार्टी भित्र ? त्यो हिसाबले मैले नबोलेको ।

    तर यता पार्टी विधान, संविधानभन्दा बाहिर गएर बोलेको चाहिँ ? एक पटक होइन तीन तीन पटक धर्मको बारेमा बोल्दिनुभयो । जुन बेला समयनै थिएन ।

    हाम्रो संविधान बन्दै थियो । त्यो बेला मैले सुशील दालाई भनेँ ‘ हेर्नुहोस् सुशील दा, यो बीपी कोइरालाले बनाएको पार्टी यो चारतारे झण्डामा एउटा तारा धर्म स्वतन्त्रताको प्रतीक हो । तपाईंले धर्मनिरपेक्षता किन गर्दैहुनुहुन्छ ? उहाँ हतारमा हुनुहुन्थ्यो । ५,७ दिन मात्रै बाँकी थियो । उहाँले भन्नुभयो ‘यो प्रेसर छ मलाई के गर्छस् । पछि यो चेञ्ज गरौँला ’ । त्यो भनिसकेपछि  मैले बोल्ने कुरा आएन । किनभने संविधान नै दिनुभएन भने त सुशील कोइराला पनि फेलियर भएर जानुहुन्छ । उहाँले अन्तमा संविधान दिन त सफल हुनुभयो नि । यो त नेपाली कांग्रेसका लागि ठूलो उपलब्धि हो नि । त्यो उपलब्धि पनि जान सक्ने संभावना देखेँ । त्यसैले मैले धेरै प्रेसर गरिनँ उहाँलाई ।

    सभापतिको उम्मेदवारी दिदै गर्दा यहाँका मुद्दाहरू के के हुनेछन् ?

    सबैभन्दा पहिला पार्टीलाई एकजुट बनाउने कुरा छ । हाम्रो धरासायी हुने प्रथम काराण के हो भने टुक्रा टुक्रा भएको, गुटउपगुटहरूले ध्वस्त पारेको छ । सभापति आजको मितिमा पनि तेरो मान्छे , मेरो मान्छे भन्नुहुन्छ । उहाँ  त सबैको सभापति हो नि । उहाँले आफ्नो धारणा परिवर्तन गरेको भए उहाँनै सफल सभापति हुनुहुन्थ्यो तर उहाँले आजको मितिसम्म ‘उसको मान्छे ,मेरो मान्छे’ भन्नुहुन्छ । म के चाहन्छु भने पार्टीलाई एक बनाऔ । पार्टीभित्र अहिलेको विधान राम्रो विधान होइन । बीपी कोइरालाले सभापतिय पद्धतिमा जानुपर्छ अर्थात् सबैलाई चुनाव लड्न नदिएर केही सिटहरूचाही मनोनित हुनुपर्छ किनभने प्रेसिडेन्सीयल सिस्टममा प्रेसिडेन्ट त चुनावबाटै आउनुपर्‍यो तर ऊ आईसकेपछि उसले आफ्नो

    शक्तिलाई सन्तुलित राख्नका लागि मनोनीत गर्ने ठाउँ हुनुपर्‍यो । महामन्त्री एक जना, उपसभापति  जना….यस्तै गरेर उसको पार्टीप्रतिको पकड बलियो हुनुपर्‍यो । सबैले लडेर हुँदैन । अधिवेशन भइसकेपछि  महासमिति डाकेर यो विधानमा परिवर्तन ल्याउनुपर्छ भन्ने मैले सोचेको छु ।

    शासकीय स्वरूपलाई पनि सत्तारुढ दलले बहसमा ल्याउनुपर्छ भनेको छ । प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको कुरा गरिरहेको छ । यसमा तपाईंको टिप्पणी के छ ?

    प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको विषय धेरै वर्षदेखि उठिरहेको छ । मचाहिँ वेस्ट मिनिस्टर सिस्टममा नै विश्वास गर्छु । पहिले दलको नेता हुन्छ । हाउसमा आपफ्नो बहुमत ल्याउँछ । त्यहीअनुसार हामी जानुपर्छ । प्रेसिडेन्सियल सिस्टम, डाइरेक्ट चुनाव प्रेसिडेन्सको , त्यो हाम्रो लागि राम्रो हुँदैन ।

    अन्त्यमा, अब महाधिवेशनकै प्रशंग, क्रियाशील सदस्यको छिनोफानो, उम्मेदवारलगायत टुंगो लागेर महाधिवेशनको अर्को कार्यतालिका कहिलेसम्म आउला ?

    सबैभन्दा पहिला त क्रियाशील सदस्यतालाई यो महिनाको अन्तिमसम्म टुंग्याउनुपर्छ । त्यसमा हामी लागि रहेका पनि छौँ । समिति बनाएर जिम्मा पनि लगाएका छौँ । अरु पार्टीबाट आएका पनि समावेश हुनुपर्‍यो । विजय गच्छदारको पार्टी, सुनील थापाजीको पार्टीको क्रियाशीलहरू पनि समावेश हुनुपर्‍यो र त्यसपछि हाम्रो आन्तरिक पनि समावेश हुनुपर्‍यो । मलाई लाग्छ यो शीघ्र नै सम्पन्न हुन्छ । त्यसमा फेरि विवाद भयो भने हाम्रो अधिवेशनलाई नै असर गर्छ ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार