सोमबार, बैशाख ३१ २०८१

मसँग गुट होइन टिम छ, सभापतिको साझा उम्मेदवार मै हो: रामचन्द्र पौडेल (अन्तर्वार्ता)

मसँग गुट होइन टिम छ, सभापतिको साझा उम्मेदवार मै हो: रामचन्द्र पौडेल (अन्तर्वार्ता)


  • सक्रियखबर
  • बुधबार, भाद्र २ २०७८

  • नेपाली कांग्रेसको १४औँ महाधिवेशनको कार्यतालिका छैटौँ पटक सरेको छ । नयाँ कार्यतालिका अनुसार अब महाधिवेशन ९-१३ मंसिरमा काठमाडौंमा हुनेछ । १२ साउनबाट वडा अधिवेशन सुरु हुने भनिए पनि क्रियाशील सदस्यता विवादका कारण निर्वाचन कार्यतालिका १८ भदौबाट सुरु हुने गरी पछि धकेलियो । तर, क्रियाशील सदस्यता र पार्टी समायोजनको विवाद कायमै रहेकाले परिवर्तित कार्यतालिका अनुसार अधिवेशन सुरु हुनेमा अझै आशंका छ । समयमै महाधिवेशन गर्न नसकेका कारण कांग्रेसमा देखिएको वैधानिकताको संकट पनि टरिसकेको छैन । पार्टीको महाधिवेशन, अबको कार्यदिशालगायतका विषयमा केन्द्रित रहेर वरिष्ठ नेता रामचन्द्र पौडेलसँग शिलापत्रका लागि केशवराज जोशीले गरेको कुराकानीको सम्पादित अंश :

    -निर्धारित समयमै १४औँ महाधिवेशन भएन भने २३ भदौ पछि शेरबहादुर देउवालाई सभापति मान्न सकिँदैन भन्नुहुन्थ्यो । तर, महाधिवेशन सार्न किन सहमत हुनुभयो ?

    महाधिवेशन तोकिएको मितिमा नहुने पक्काजस्तै भइसकेको थियो । महाधिवेशन मैले सारेको होइन । मेरो जोड प्रक्रिया छोट्याएर भए पनि गरौँ भन्ने नै थियो । १३औँ महाधिवेशनबाट बनेको कार्यसमिति पाँच वर्ष ६ महिना पुग्दै छ । २३ भदौमा संवैधानिक व्यवस्था अनुसार वैधानिक रूपमै कार्यकाल सकिन्छ । त्यसपछि तपाईं कसरी पार्टी सभापति,  म कसरी सदस्य, केन्द्रीय सदस्य र अन्य पदाधिकारी कसरी ती पदहरूमा रहन्छन् भनेर मैले पार्टी सभापतिमाथि प्रश्न उठाएकै हो ।

    त्यसैले त्यो समयसीमाभन्दा अगाडि नै महाधिवेशन सक्नुपर्छ भन्ने मेरो भनाइ हो । त्यतिमात्रै होइन, पार्टीको विधानले ४ वर्षको समयसीमा दिएको छ । त्यसैले समयबद्ध काम गरौँ, चार वर्षभित्रै अधिवेशन गरी नयाँ कार्यसमिति दिऔँ भनेर मैले त्यही बेलादेखि भन्दै आएको थिएँ ।

    आवधिक निर्वाचन भनेको लोकतन्त्रको प्राण हो । निर्वाचन तोकिएकै समयमा हुनुपर्छ । पार्टीलाई अलमल्याएर, अधिवेशन टारेर चुनावै नगरी पदमा बसिरहनु लोकतन्त्र होइन भनेर मैले पहिलेदेखि नै भन्दै आएको हो । तर, पेल्दैपेल्दै ल्याएर अन्तिम घडीसम्म ल्याइयो । खाए खाँ, नखाए घिचको अवस्थामा पुर्‍याइयो । २३ भदौअघि वडा तहकै भए पनि अधिवेशन सुरु गरेपछि म्याद थामिन्छ कि भनेर म पनि त्यसमा सहभागी भइदिएको हो । म्याद थाम्ने कुरामा समेत अड्काउन खोजे भन्लान् भनेर १८ भदौबाट वडा तहको अधिवेशन गर्ने कुरामा सहमति जनाएको हुँ ।

    -संविधानले प्रदेश र केन्द्रीय महाधिवेशनलाई मात्रै चिन्छ । वडा र स्थानीय तहको अधिवेशन त चिन्दैन । यो अवस्थामा के कांग्रेसको वैधानिकता रहन्छ त ?

    पाँच वर्ष छ महिनाभित्रैमा केन्द्रीय महाधिवेशन हुनुपर्दछ भन्ने संविधानको प्रस्ट व्यवस्था छ । हाम्रो नियत महाधिवेशन गर्ने नै थियो । तर, कोरोना महामारी, क्रियाशील सदस्यता विवादलगायत कारणले समस्या देखिएको मात्रै हो भन्ने देखाउन हामीले १८ भदौबाट अधिवेशन सुरु गर्दैछौँ ।

    -निर्वाचन आयोगले सहजीकरण गर्ने बताइसकेको छ । तर, पार्टीको वैधानिकतामाथि प्रश्न उठाउँदै कोही अदालत गयो भने के हुन्छ ?

    त्यो म भन्न सक्दिनँ । मैले सभापतिलाई यसमा म जिम्मेवार छैन भनेर भनिसकेको छु । मैले त उहीँ बेला महाधिवेशन गरौँ भनेको हो । मेरो कुरालाई अनदेखा र उपेक्षा गरेकाले पार्टीमा यो संकट आइपरेको हो । पार्टीलाई यो अवस्थामा पुर्‍याउन सभापतिकै हात छ । २३ भदौपछि हाम्रो भविष्य के हुन्छ भनेर मैले त पहिलेदेखि नै प्रश्न उठाउँदै आएको हुँ ।

    तर, अब के गर्ने ? महाधिवेशनको मिति छैटौँ पटक सरेको छ । अहिले सारेकै मितिमा त संकट छ भने अब कसरी सर्छ । अहिले सारिएको मितिमा पनि अधिवेशन गर्न सकिएन भने कांग्रेसमा अनर्थ हुन्छ, पार्टीलाई विघटनतिर लैजाने कुरा हो ।

    क्रियाशील सदस्यताको विवाद कायमै छ । तर, निर्वाचन कार्यतालिका नयाँ आएको छ । अब चाहिँ निर्धारित मितिमै अधिवेशन हुन्छ भन्ने कुरामा तपाईं ढुक्क हुनुहुन्छ ?

    यो मितिमा महाधिवेशन गर्न सकियो भने कांग्रेस रहन्छ । नत्र पार्टी विघटनमा जान सक्छ । पार्टीलाई बचाउने चिन्ता हामी सबैलाई छ । क्रियाशील सदस्यताको विवाद टुंगो लगाउन हाम्रीबीचमा एउटा समझदारी बनेको छ । जहाँ-जहाँ समस्या देखापरेको छ त्यसको समाधान ३ भदौभित्रै गर्न सक्यौं भने विश्वासको वातावरण बन्छ । साथीहरूलाई न्याय दिन्छौँ । कांग्रेसका निष्ठावान कार्यकर्तालाई अन्याय हुन दिन्नौँ भन्ने कुराको अनुबन्धको साथमा तीन जना साथीहरूलाई जिम्मा दिएका छौँ ।

    ‘समाजवादीहरूको स्वर्ग भविष्यमा हुन्छ, प्रतिक्रियावादीको स्वर्ग अतीतमा हुन्छ भन्ने समाजवादीहरूको एउटा थेगो नै छ । म अतीतमा स्वर्ग खोज्ने मान्छे होइन, भविष्यमा स्वर्ग देख्ने मान्छे हो । भविष्यलाई स्वर्ग बनाउने सोच राख्छु । त्यसैले युवा तिनै हुन्, जसको भविष्यमुखी दृष्टिकोण छ ।’

    अहिले समायोजनका नाममा सबैभन्दा धेरै विवाद छ । पार्टी प्रवेशका नाममा सयौंलाई सदस्यता दिने काम भएको छ । यो धाँधली हो । यही विषयमा मेरो लडाइँ छ । तर यी सबै विवाद मिल्यो भने अब निर्धारित समयमै अधिवेशन हुनेमा विश्वास छ ।
    सबैलाई स्थानीय कार्यकर्ताले चिन्न पाउनुपर्छ त्यत्तिकै संख्या थुपारेर मात्रै हुँदैन । म आफैँ वडाबाटै चुनिएर आउँदैछु । सबै जना यसरी नै वडा तहबाटै चुनिएर आउनुपर्‍यो भन्ने मेरो कुरा हो ।

    – यो पटक पनि तपाईं सभापतिको उम्मेदवार हो ? 

    म स्वाभाविक उम्मेदवार हो । अघिल्लो पटक सभापतिमा पराजित भएकाले पनि यो पटक पनि सभापतिको उम्मेदवार हो । मसँग गुट होइन, टिम छ । सभापति शेरबहादुर देउवाका क्रियाकलापसँग असहमत हुनेहरूको टिम छ मसँग । त्यसैले सभापतिको उम्मेदवारी घोषणा गर्नुअघि म टिमभित्र कुरा गर्छु । सबैको सहमतिमा साझा उम्मेदवार बन्छु । टिममा विश्वास गर्ने व्यक्ति भएकाले एकलौटी उम्मेदवारी घोषणा गर्ने पक्षमा म छैन ।

    -तपाईंको टिमले तपाईंले यो पटक छोड्नु पर्‍यो । अर्कै व्यक्तिलाई उम्मेदवार बनाऔँ भन्यो भने के गर्नुहुन्छ ?

    हाम्रो टिममा यो विषयमा पक्कै पनि छलफल हुन्छ । अहिले कसको किन आवश्यकता छ भन्ने विषय पनि छलफलमा आउँला । त्यसपछि एउटा मिलनबिन्दुमा हामी पुग्छौँ । जुन शक्तिको हामीले सामना गर्दैछौँ त्यसविरुद्ध सबैलाई अटाएर टिम बनाउँछौँ । कसलाई अगाडि सारेर जाँदा हामी सफल हुन्छौँ, त्यही टिम बनाउँछौँ ।

    -तपाईंबाहेक अरुको नाममा सहमति गरेर अघि बढौं भन्ने प्रस्ताव आए मान्नुहुन्छ ?

    मैले मेरो टिमभित्रका आकांक्षी साथीहरूलाई सक्नुहुन्छ भनेर सहमति गरेर आउनुस् भनेको छु ।

    -त्यस्तो सहमति भयो भने तपाईं सभापतिको दाबी छाड्न तयार हो ?

    हो । तर, अहिले छाड्ने र लिने कुरा आएकै छैन । त्यसैले म ‘एस्’ र ‘नो’ मा यसको उत्तर दिन चाहन्न । अहिलेको आवश्यकता र सम्भाव्यतालाई हेरेर हामीले निर्णय गरेर अघि बढौं भनेर मैले साथीहरूलाई भनेको छु ।

    -पार्टीको मूल नेतृत्वमा आउन तपाईंले बलियो गुट बनाउन सक्नु भएन, आफ्ना मान्छेको पहिचान गर्न र उनीहरूको सही व्यवस्थापन गर्न सक्नुभएन भन्ने गरिन्छ नि । के भन्नुहुन्छ ?

    गुट बनाउनलाई साम, दाम, दण्ड र भेद चल्ने रहेछ । म काममा विश्वास गर्छु, त्यस्तो कुरामा विश्वास गर्दिनँ । असल लक्ष्य लिएर अगाडि बढ्छु । यो असल लक्ष्यमा जोसँग कुरा मिल्छ तिनीहरू मसँग हुन्छन् । रामचन्द्र पौडेल भए पनि नभए पनि हुन्छ, म नभए पनि रामचन्द्र दाइ हुनुपर्छ भन्ने मान्छे मैले बनाएको छैन ।

    मैले जुन मिसन बनाएको छु, यो मिसनमा अगाडि बढ्नेलाई बढीभन्दा बढी प्रेरणा दिन्छु । त्यही नै मेरो गुट हो । लोकतन्त्रका लागि लड्ने भावना जसले लिन्छ, त्यो नै मेरो गुट हो । त्यसैले मैले गुट बनाएको छैन । म गुटमा विश्वास पनि गर्दिनँ । म त विचारको शक्तिले अगाडि बढ्ने कुरामा विश्वास राख्छु ।

    मेरा लागि लोकतन्त्र नै सत्य हो । म सिस्टमका लागि लड्ने मान्छे हो । गुट उपगुटको पछि लाग्दिनँ ।

    -तपाईंले भन्नुभएको लोकतन्त्र शब्दमा मात्रै छ कि संस्कारमा पनि ?

    म संस्कारमा लोकतन्त्र हुनुपर्दछ भन्ने मान्यता राख्छु । परिवार, समाजदेखि  राज्यसम्म सबै सिस्टममा चलोस् भन्ने चाहन्छु ।समानता र बराबरीको सिद्धान्तमा हाम्रो विश्वास छ । नेपाली समाजलाई लोकतान्त्रिकरण गर्न पार्टीहरूको लोकतान्त्रिकरण हुनुपर्दछ । त्यसैले कांग्रेसमा आन्तरिक लोकतान्त्रिकरणका लागि म लड्दै आएको छु । लोकतन्त्रको लडाइँ अझै सकिएको छैन, लामो लडाइँ बाँकी नै छ । म त्यो लडाइँ पार्टीभित्र र बाहिर पनि लडिरहने छु ।

    -एक समय पार्टीभित्र र बाहिर पनि तपाईंहरूप्रति एक किसिमको आकर्षण थियो । अहिले त्यो आकर्षण घट्दै गइरहेको छ । तपाईंहरूले उमेरका हिसाबले पनि अब नयाँ पुस्ताका लागि ठाउँ छाड्नुपर्ने बेला आएन ? 

    पुराना पात झर्छन्, नयाँ पात पलाउँछन् । यो प्रकृतिको नियम नै हो । यसलाई म स्वभाविक नै मान्छु । तर, म जुन सत्य समातेर हिँडेको छु, त्यो सत्य त सत्य नै रहन्छ । त्यसैले सत्ताभन्दा व्यवस्थालाई महत्त्व दिनुपर्छ भन्ने मान्यता राख्छु ।

    मसँग गुट होइन, टिम छ । सभापति शेरबहादुर देउवाका क्रियाकलापसँग असहमत हुनेहरूको टिम छ मसँग । त्यसैले सभापतिको उम्मेदवारी घोषणा गर्नुअघि म टिमभित्र कुरा गर्छु ।

    बीपी भन्नुहुन्थ्यो, मान्छे उमेरले हैन, विचारले बुढो वा तन्नेरी हुन्छ । ‘समाजवादीहरूको स्वर्ग भविष्यमा हुन्छ, प्रतिक्रियावादीको स्वर्ग अतीतमा हुन्छ भन्ने समाजवादीहरूको एउटा थेगो नै छ । म अतीतमा स्वर्ग खोज्ने मान्छे होइन, भविष्यमा स्वर्ग देख्ने मान्छे हो । भविष्यलाई स्वर्ग बनाउने सोच राख्छु । त्यसैले युवा तिनै हुन्, जसको भविष्यमुखी दृष्टिकोण छ ।’

    पार्टीमा रहेका नयाँ पुस्ताका ती नेताहरू, जोसँग प्रतिभा र क्षमता छ उनीहरू पार्टी र सरकारको महत्त्वपूर्ण जिम्मेवारीमा आएकै छन् । त्यसैले उमेरका आधारमा डिमार्केसन अन्याय र अलोकतान्त्रिक हुन्छ ।

    कसले कुन उमेरमा पुगेर कस्तो योगदान गर्न सक्छ भन्ने कुरा कसैलाई थाहा हुँदैन । जस्तो कि गिरिजाबाबुलाई नै लिऊँ न । गिरिजाबाबुका धेरै विवादहरू थिए । तर, ८४ वर्षको उमेरमा उहाँ एउटा हाइटमा पुग्नुभो । मैले शान्ति स्थापना गरेँ, ननपोलिटिकल (माओवादी) लाई पोलिटिकल बनाएँ भनेर दाबी गर्ने हैसियत उहाँले बनाउनुभयो ।

    त्यसैले कसले कहिले कुन उमेरमा कस्तो योगदान पुर्‍याउन सक्छ भन्ने कुरा कसैलाई थाहा हुँदैन । देशको कार्यकारी पदमा पुगे भने म दुई वर्षमै यो देशको दिशा परिवर्तन गर्न सक्छु कि ! म यो देशको दिशा परिवर्तन गर्न चाहन्छु । प्रगति र समृद्धिको बाटोमा लैजान चाहन्छु ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार