मंगलबार, जेष्ठ १ २०८१

आजदेखि पोखरा ‘सडक महोत्सव’ शुरु हुँदै

आजदेखि पोखरा ‘सडक महोत्सव’ शुरु हुँदै


  • सक्रियखबर
  • बिहिबार, पुष १५ २०७८

  • अङ्ग्रेजी नयाँ वर्षको अवसरमा आजदेखि पोखरामा ‘सडक महोत्सव’ हुँदैछ । ‘समृद्ध समाजका लागि सुरक्षित पर्यटन प्रबद्र्धन आजको मुल आवश्यकता’ भन्ने नाराका साथ रेष्टुरेण्ट एण्ड वार एसोसिएसनको आयोजनामा लेकसाइडस्थित फेवाताल किनारमा हुन लागेको २३ औँ सडक महोत्सव पुस १७ गते सम्म चल्नेछ ।

    आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गरी पोखरालाई गन्तव्यस्थलको रुपमा प्रबद्र्धन गर्ने उद्देश्यले रेवानले अङ्ग्रेजी नयाँ वर्षको अवसरमा हरेक वर्ष महोत्सवको आयोजना गर्दै आइरहेको छ ।  महोत्सव लोकसाईडस्थित कोमागाने पार्कदेखि हल्लनचोक सम्मको ३ किलोमिटर क्षेत्रमा आयोजना हुनेछ । महोत्सवमा ३० भन्दा बढी हस्तकलाका स्टल रहने छन् ।

    महोत्सवमा कोमागाने पार्कभित्र हुने कार्यक्रमका लागि दिउँसोको लागि ५० रुपैयाँ र बेलुका कन्सर्टको लागि १ सय रुपैयाँ प्रवेश शुल्क तोकिएको आयोजकले जनाएको छ । रेष्टुरेण्ट एण्ड बार एसोशियसन (रेवान) का अध्यक्ष लक्ष्मण बरालले महोत्सवको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए । ‘सडकमै खाउँ, सडकमै रमाउँ’ भन्ने नाराका साथ आयोजना गरिएको महोत्सवमा विभिन्न साँस्कृतिक कार्यक्रमका साथै मौलिक भेषभूषा समेत प्रदर्शन गरिने उनले बताए  । कोभिड–१९ को संक्रमणको जोखिमलाई दृष्टिगत गरी स्वास्थ्य मापदण्डलाई ख्याल गर्दै महोत्सव आयोजना गरिने आयोजक पक्षले बताएको छ । महोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाको प्रदर्शन, विभिन्न झाँकी प्रदर्शन, रात्रीकालीन कन्सर्ट, डुंगा दौडजस्ता प्रतियोगिता समावेश गरिएको संयोजक नरेश भट्टराईले जानकारी दिए ।

    पोखरामा वर्षेनी आयोजना हुँदै आएको पोखरा सडक महोत्सवले छुट्टै इतिहास बनाएको छ । दुई दशक भन्दा बढी समयदेखि पोखराको पर्यटन प्रबर्द्धनमा सहयोग पुर्याउँदै आएको आयोजकको दावी छ । महोत्सवलाई रेवान पोखराले देशको विभिन्न राजनैतिक अस्थिरता, २०७२ सालको महाभूकम्प, भारतीय नाकाबन्दी जस्ता समस्या भएका बेलासमेत निरन्तरता दिँदै आएको छ ।

    महोत्सवमा आउने दर्शकलाई कोभिड–१९ को खोप

    यसैबीच, स्वास्थ्य मापदण्डलाई ध्यानमा राख्दै महोत्सव अवलोकनका लागि पुग्ने दर्शकहरुका लागि बिहीबार र शुक्रबार कोभिड विरुद्धको जोनसन एण्ड जोनसनको खोप समेत उपलब्ध गराइने रेवानका अध्यक्ष बरालले बताए ।
    जिल्ला प्रशासन कार्यलय कास्की र पोखरा महानगरसँगको समन्वयमा महोत्सवमा आउनेलाई निशुल्क खोप लगाउने व्यवस्था गरेको हो ।

    कोभिड हेल्थ प्रोटोकललाई ध्यान दिँदै, पोखरा खुल्लै छ भन्ने सकरात्मक सूचना प्रवाह गरि पर्यटन प्रवद्र्धन गर्न र अङ्ग्रेजी नयाँ वर्षको गन्तव्यस्थलको रुपमा पोखरालाई चिनाउने उद्देश्यले सडक महोत्सव आयोजना गर्न लागिएको आयोजक पक्षले जनाएको छ ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार