मंगलबार, जेष्ठ १ २०८१

फोहोरी राजनितीले विदेशिन बाध्य छन् युवा

फोहोरी राजनितीले विदेशिन बाध्य छन् युवा


  • सक्रियखबर
  • शुक्रबार, फाल्गुन २८ २०७७

  • म तीन/चार कक्षा पढ्दा ताकाको कुरा हो, मेरो विद्यालयको एकजना शिक्षिका; जसले पिकनिकको योजना बनाउँदै हुनुहुन्थ्यो । उहाँ जम्मा कतिजना र को–को पिकनिक जान्छन् भनी संकलन गर्ने क्रममा हुनुहुन्थ्यो ।

    म मेरो स्वास्थ्य स्थितिको कारण जान नसक्ने अवस्था भएकोले सोही व्यहोरा जानकारी गराउँदा शिक्षिकाले “यो कांगे्रस मैले भनेको मान्दैन” भनी पहिलो पटक मलाई राजनैतिक आवरण लगाईदिनु भयो । संयोगवश मेरो एकजना मिल्ने साथी पनि म नजादाँँ नजाने भयो तब त झन् त्यसको कारण पनि मलाई नै ठहर गरी “यिनी कांग्रेसहरु किन जान्थे त” भनी शिक्षिकाले मलाई पक्का कांग्रेसी नै बनाईदिनु भयो ।

    उपर्युक्त घटना घटेको झण्डै एक वर्ष पछिको कुरा हो । हाम्रो विद्यालयमा कलेज पढ्ने एक हुल विद्यार्थीहरु आएर हामी सबै विद्यार्थीहरुलाई टाउको गन्ती नेपाल विद्यार्थी संघको सदस्य बनाएर जानुभयो । त्यसबेलामा चारपाँच कक्षामा पढ्ने हामीहरुलाई केही थाहै थिएन । त्यसको केही दिन पछि ने.वि.संघ हो कि कांग्रेसको कुनै कार्यक्रममा साईकलमा कांगे्रसको झण्डा बाँधेर दशौँ किलोमिटर हिँड्न लगाइयो । बिचमा एकपटक सर्वत पानी अनि कार्यक्रमको अन्तमा दाल, भात खान पाएकोमा नै आफू मख्ख परियो ।

    सात कक्षामा पढ्दाको कुरा हो, मेरो खुट्टाको औंला अपरेसन गरेको थियो । अपरेसन पश्चात फलोअपको लागि बुटवल टाढा हुँदा घर अगाडीकै एकजना डाक्टर भनिने हाम्रा आदर्श पुरुष सँग सेवा लिइएको थियो । त्यस क्रममा उहाँले नै “तिमी जस्तो ट्यालेण्ट विद्यार्थीले नयाँ नौलो विचार लिनुपर्छ । तिमी माओवादी बन्नुपर्छ । दुई तीन वर्षमा तिमी तयार हुन्छौ” भनी “जनादेश” पत्रिका र कम्युनिष्ट विचारधाराका केही किताबहरु पढ्न दिनुभयो । म लुकी–लुकी ती किताबहरु पढ्ने गर्थेँ ।

    म आठ/नौ कक्षामा पढ्दा “माले” (वामदेव) पार्टी बन्यो । हिंसा मन नपराउने मलाई एकजना दाइले यो नयाँ पार्टी हो, अरु पार्टी भन्दा यो ठिक छ भनी केही प्रचार सामग्री दिनुभयो । दाईले दिएको सामान सम्मानका साथ स्वीकार गरेँ ।
    म एस.एल.सी. पछि बैंगलोर पढ्न गएँ ।

    बैंगलोरमा पढाइकै क्रममा एकजना नेपाली राजनीति गर्ने दाई संगठन विस्तार गर्ने उद्धेश्यले कलेजमा आउनुभएको थियो । हामी कसैले पनि खासै वास्ता गरेनौँ । त्यसबेला हामीले त्यो बकवासको आवश्यकता महसुस गरेनौँ ।

    वि.ए. लेभलको पढाइ सकेर जब म नेपाल फर्किएँ, मलाई अब देशमै रोजगारी गर्नुपर्छ भन्ने लागेको थियो । संयोगवश वि.पि.स्मृति अस्पतालमा रोजगारी मिल्यो । म स्वतः कांग्रेसमा गनिएँ । हस्पिटल पनि राजनैतिक पार्टीहरुको हुँदो रहेछ भनी बुझ्न कर लाग्यो ।

    यहाँको यस्तै परिवेशले गर्दा मलाई यहाँ बस्नै मन लाग्न छाड्यो । म एम.ए. लेभलको पढाइ गर्न हुँदा–खाँदाको जागिर छाडेर फेरी बैंगलोर गएँ । पढाइ पूरा गरिसकेपछि नेपाल नफर्कनुको कुनै विकल्प थिएन । म मनमोहन हस्पिटलमा नियुक्ति भई रोजगारी गर्न थालेँ । म अब कम्युनिष्टमा गनिएँ ।

    नेपालमा काम गरेको पछिल्लो पटकको दुई–तीन वर्षको अवधिमा मैले पचासौँ नेताहरुलाई नजिकबाट देख्ने/चिन्ने अवसर पाएँ र कतिपयलाई त आफ्नो बिरामीको रुपमा उपचार गर्ने मौका समेत मिल्यो । त्यसमध्ये केही प्रधानमन्त्री तथा केही मन्त्री समेत भइसकेका व्यक्तित्वहरु हुनुहुन्थ्यो । सबै भिन्न–भिन्न पार्टीका भएता पनि सबैमा एउटा समानता थियो– त्यो हो शक्तिको भोक ।

    कुनैबेला विदेश कहिल्यै जान्न भनेर सोच्ने मान्छे मलाई अब नेपालमा बस्दै बस्दिन भन्ने लाग्न थाल्यो र सोही बमोजिम प्रयास पनि गर्न थालेँ । प्रयास सफल भयो, क्यानडा आउने मौका मिल्यो । यहाँ म आफ्नो परिवार र आफ्नो रोजगारीकै काममा व्यस्त छु । एक किसिमको आनन्द छ । यहाँ मलाई कहिले कांग्रेस र कहिले कम्युनिष्टको आरोप लाग्दैन र आफ्नो रोजगारीको काम गर्दा कांग्रेस तथा कम्युनिष्टको काम गरेको बोध पनि हुँदैन ।

    हुन त यहाँ पनि कांग्रेस तथा कम्युनिष्टको राजनीतिलाई केही पुराना पुस्ताका नेपालीहरुले जिउँदै राख्नुभएको छ, तर म र म जस्ता धेरैलाई राजनीति सँग खासै केही सरोकार छैन ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार