Logo

२०८३, आश्विन २१ गते | Oct 07 2026

देशभर गएर जनताको समस्या बुझ्छु : प्रचण्ड

देशभर गएर जनताको समस्या बुझ्छु : प्रचण्ड

मंगलवार, श्रावण १५ २०८१
मंगलवार, श्रावण १५ २०८१
  • नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय समितिको बैठकपछि आफू देशभर जनतामाझ जाने बताएका छन् । 

    पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पदाधिकारीको बैठकलाई सम्बोधन गर्दै उनले जनसम्बन्ध विस्तार गर्ने लक्ष्यका साथ आफू जनतामाझ जाने बताए । 

    सङ्गठन विस्तार गर्ने, पार्टी नेता तथा तल्ला तहका कार्यकर्ताको भावना बुझ्ने र पार्टीलाई नयाँ आधारमा रुपान्तरण गर्ने लक्ष्यका साथ आफू देशभर विशेष कार्यक्रम लिएर जाने योजनामा रहेको अध्यक्ष दाहालले बताएको प्रवक्ता एवं उपाध्यक्ष अग्नि सापकोटाले जानकारी दिए । 

    सरकारमा रहँदा जनतासँग पार्टीको सम्बन्ध टुटेको भन्ने नेताहरूको भनाइपछि अध्यक्ष दाहालले नयाँ आधारमा जनसम्बन्ध विस्तार गर्ने लक्ष्यका साथ आफू र पार्टीका शीर्ष नेता देशभर जानैपर्ने बताए । आगामी निर्वाचनमा माओवादी केन्द्रले कुनै पनि दलसँग गठनबन्धन नगरी निर्वाचनमा सहभागी हुने बताएको छ ।

    कम्युनिस्ट र बृहत् वामपन्थी एकताको लक्ष्यलाई नछाड्ने ठहर गर्दै सो पार्टीले जनताको भावना र चाहनाअनुसार पार्टीलाई प्रभावकारी बनाउने निष्कर्ष निकालेको छ । सरकारमा रहँदा सुशासन र सामाजिक न्यायका पक्षमा सञ्चालन गरेको कामलाई जनतामाझ लैजाने र भ्रष्टाचार नियन्त्रणका सन्दर्भमा सञ्चालित अभियानलाई निरन्तरता दिन सरकारलाई जनस्तरबाट दबाव दिने निष्कर्षसमेत बैठकले निकालेको प्रवक्ता सापकोटाले बताए । 

    सङ्घीय संसद्मा प्रभावकारी रुपमा प्रमुख प्रतिपक्षीको भूमिका निर्वाह गर्ने, त्यसका लागि जनताका दैनिक समस्यालाई प्रभावकारी रुपमा राख्ने र समाधानका लागि सरकारलाई दबाव दिने योजना माओवादी केन्द्रले बनाएको छ । 

    आफूहरूलाई जनतामा जाने सुवर्ण अवसर प्राप्त भएको निष्कर्ष निकाल्दै माओवादी केन्द्रले आगामी केन्द्रीय समितिको बैठकपछि पार्टीको शीर्ष नेतृत्व नै देश दौडाहामा लाग्ने जनाएको छ । माओवादीले यही साउन २५ गते स्थायी समितिको बैठक बोलाएको प्रवक्ता सापकोटाले जानकारी दिए । 

    देशभक्त, अग्रगामी शक्तिसँग सहकार्य गर्ने, देश र जनताको समस्या समाधानमा पहल गर्ने र बृहत् वामपन्थी एकताका अलावा कम्युनिस्ट पार्टीको पुनःगठनलाईसमेत अगाडि बढाउने विषयमा पदाधिकारी बैठकले बृहत् छलफल गरेको प्रवक्ता सापकोटाको भनाइ छ । गत शुक्रबारदेखि सुरु भएको माओवादी केन्द्रको पदाधिकारीको बैठक आज सम्पन्न भएको हो । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to shakriyakhabar.com  | Site By : SobizTrend