वाग्मती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले प्रदेशसभामा विश्वासको मत प्राप्त गरेका छन् ।
मंगलबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री लामाले राखेको विश्वासको मतको प्रस्ताव बहुमतले पारित भएको हो । मतसम्बन्धी प्रस्तावमा भएको मतविभाजनका क्रममा मुख्यमन्त्री लामालाई ६४ मत प्राप्त भएको थियो भने विपक्षमा ३५ मत प्राप्त भएको थियो । मुख्यमन्त्री लामालाई कांग्रेसका ३७ र एमालेका २७ सांसदले मत दिए ।
नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राप्रपा र हाम्रो नेपाली पार्टीका गरी ३५ सांसदले भने मुख्यमन्त्री लामाको विपक्षमा मत हालेका छन् । नेमकिपा भने तटस्थ बसेको छ । ११० सदस्यीय प्रदेशसभामा विश्वासको मतका लागि ५६ सांसदको समर्थन आवश्यक पर्छ ।
मुख्यमन्त्री लामाले संविधानको धारा १६८ को उपधारा (४) तथा प्रदेशसभा नियमावली २०७४ को नियम १४३ को उपनियम (१) बमोजिम विश्वासको मत लिन मंगलबारको बैठकमा प्रस्ताव पेस गरेका थिए ।
