नेपाल समाजवादी पार्टीका संयोजक गंगानारायण श्रेष्ठले माओवादी केन्द्रसँग पार्टी समायोजन गराएका छन् ।
माओवादीसँग पार्टी समायोजन गरेका श्रेष्ठलाई माओवादीले केन्द्रीय सचिव पद दिने भएको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र श्रेष्ठले सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।
२०७२ मा संविधान जारी भएसँगै डा. बाबुराम भट्टराईले माओवादी त्यागेका थिए । श्रेष्ठ पनि माओवादी छोडेर भट्टराईसँगै लागेका थिए । भट्टराईलगायतले नयाँ शक्ति नामक पार्टी बनाएका थिए । तर उक्त पार्टी पनि विभिन्न पार्टीसँग एकता गर्दै र विभाजन हुँदै गयो ।
पछिल्लो समय श्रेष्ठले भट्टराईलाई छोडेर अलगै बसेका थिए । महिन्द्र राय यादव अध्यक्ष र श्रेष्ठ सहअध्यक्ष भएर नेपाल समाजवादी पार्टीलाई निरन्तरता दिए । तर, आइतबार उक्त पार्टी पनि विभाजन भयो । श्रेष्ठको संयोजकत्वमा पार्टी पुनर्गठन गरेर सोमबार माओवादीसँग संयोजन भएको छ ।
भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमबीच पनि एकता भयो । तर उक्त एकता पनि लामो समय टिक्न सकेन । नयाँ शक्ति पार्टीको टिम बाहिरिएर नेसपा बनाएको थियो ।
अनि फेरि नेसपाबाट बाबुराम भट्टराईलाई निकालेर यादव र श्रेष्ठले नेसपा गठन गरे । जब कि भट्टराईसहितको पार्टी हुँदा नेसपाका सबै नेताहरू निर्वाचनमा माओवादीको चुनाव चिह्नबाट लडेका थिए । जसमा यादव, श्रेष्ठ निर्वाचित भएका थिए ।
