आज हरितालिका तिज । आज व्रत बसी भगवान शिवको पुजा आरधाना गरी मनाइँदै छ ।
धर्मशास्त्रीय रूपमा महिला र पुरुष दुवैले हरितालिका तिजको व्रत गर्नुपर्ने भए पनि सामाजिक चर्चा भने महिलाले श्रीमान्को दीर्घायुको कामनाका लागि गर्ने बुझाइ छ ।
तीजको व्रत अन्य व्रत भन्दा फरक ढङ्गले लिइन्छ। यस दिन पानीसम्म पनि नखाई व्रर्त बस्नुपर्ने परम्परागत मान्यता रहेको भएपनि कतिपय महिलाहरू महादेवको पुजा आराधना पश्चात फलफूल ग्रहण गर्दछन् ।
यसै दिन माता पार्वतीले आफ्नो तपस्या पूरा गरी शिवजी पाएको विश्वास गरिने हुनाले यस दिनलाई हर्षोल्लासका साथ नाचगान गरी मनाइने गरिन्छ ।
हरितालिका तीजको अवसरमा आज श्रद्धालु भक्तजनहरू पशुपतिनाथलगायत देशभरका शिवालयमा दर्शन तथा पूजाआजका लागि पुगेका छन् ।
तीज पर्व मनाउने महिला बिहीबार राति ‘दर’ खाएपछि आज निराहार व्रतमा छन् । आज बिहानैदेखि झमझम पानी परिरहेको छ । पानी परेपछि तीजको रौनक केही कम भए पनि श्रद्धालुहरू छाता ओडेरै पशुपतिनाथमा पुगेका छन् ।
पशुपतिनाथका चारवटै ढोका बिहान ३ बजेदेखि नै खुलेका छन् । मन्दिर दर्शनको लागि लामो लामो लाइन लागेको भए पनि बिहानैदेखि चारै ढोका खुलेकोले लाइन चाँडो चाँडो सरेको पशुपति विकास कोषले जानकारी दिएको छ ।
