प्रधानमन्त्री केपी शर्मा ओलीले राप्रपा नेपालका अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री कमल थापाले लेखेको ‘नाकाबन्दी र भूराजनीति- कूटनीतिमा मेरो अनुभव र अनुभूति’ नामक पुस्तकको लोकार्पण गरेका छन् ।
थापाले पुस्तकलाई ६ खण्डमा बाडिएको र परराष्ट्रसम्बन्धी विभिन्न घटनाक्रमलाई उल्लेख गरिएको बताएका छन् । पुस्तकमा एकीकृत महाकाली सन्धि तथा २०७२ सालमा देशको नयाँ संविधान जारी भएपछि परराष्ट्रमन्त्रीका रूपमा थापाले निर्वाह गरेको भूमिका र त्यसैको सेरोफेरोमा रहेर आफ्ना अनुभूति अभिव्यक्त गरेका छन् ।
पूर्वउपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कमल थापाद्वारा लिखित ‘कूटनीति र भूराजनीति’ पुस्तकको साेमबार विमोचन गर्दै प्रधानमन्त्री ओलीले जायज र न्यायोचित राष्ट्रिय हितका साथै अन्तर्राष्ट्रिय उत्तरदायित्व बहन गरेर तथ्य–प्रमाणका आधारमा समाधान खोजिएमा समस्या उत्तपन्न नहुने बताए ।
'नेपालले सन्तुलन, इमानदारिता र पक्षधरताविहीनताका आधारमा दुवै छिमेकीसँग असल सम्बन्ध राख्छ । हामी एउटा छिमेकीविरुद्ध अर्काे छिमेकीको कुनै कार्ड प्रयोग गर्दैनौँ । कसैको कुभलो चिताउँदैनौँ । हाम्रो भूमि कुनै पनि छिमेकीका विरुद्ध प्रयोग हुन दिँदैनौँ’, प्रधानमन्त्री ओलीले भने, 'हामी तटस्थता र शान्तिपूर्ण समाधानको बाटो खोज्छौँ । संयुक्त राष्ट्रसङ्घका सिद्धान्तको पालना गर्छाैं । त्यसको उलङ्घन भएमा हामीले अनुचित भयो भनेर भन्न सक्नुपर्छ । तर्कलाई भन्दा तथ्यलाई अगाडि सार्न सक्नुपर्छ । हामी विश्वशान्ति र आफ्ना नागरिकको सुरक्षाका सवालमा संवेदनशील छौँ । कुनै पनि देशले आफ्नो स्वार्थका लागि अरुको स्वाभिमानाका धक्का लगाउने काम गर्नु हुँदैन ।’
प्रधानमन्त्री ओलीले देशभित्रको कमजोरी र स्वार्थ लुकाउन ‘भूराजनीति’को प्रभाव भन्ने सोच उचित नहुने भन्दै राष्ट्रलाई शीरमा राखेर राष्ट्रिय स्वाभिमानको झण्डालाई फहराउन आग्रह गरे । उनले नेपाल र भारतबीचको शीर्ष तहको सहमतिबाट सन् १९५० का सन्धीलगायतका विषयमा पुनरावलोकनका लागि गठित प्रबुद्ध व्यक्तिहरूको समूह (इपिजी)को प्रतिवेदन बुुझ्न भारतीय पक्षलाई आग्रह गर्दै त्यसपछि सीमा विवादलगायत विषयमा थप संवाद गर्न सहज हुने स्पष्ट गरे ।
प्रधानमन्त्री ओलीले २०७२ सालमा भारतले नेपाललाई नाकाबन्दी लगाएका बेला आफू प्रधानमन्त्री हुँदा चीनसँग व्यापार तथा पारबहन सन्धी हुनु युगान्तकारी काम भएको पनि स्मरण गरे । तत्कालीन परराष्ट्रमन्त्री थापाले चीनसँगको उक्त सम्झौता कार्यान्वयन गर्न आग्रह गर्दै राष्ट्रिय हित र स्वाभिमानका सवालमा अन्तर्राष्ट्रिय मञ्चमा खुलस्त र निडर रूपमा कुरा राख्न सक्ने नेताका रूपमा प्रधानमन्त्री ओलीलाई आफूले पाएको बताए ।
