सौर्य एयरलाइन्सको जहाज मर्मतका लागि भनेर काठमाडौँबाट पोखराका लागि उडेको खुलेको छ ।
दुर्घटनाग्रस्त जहाज पोखरामा सुविधा सम्पन्न ‘ह्याङ्गर’ भएका कारण सौर्य एयरलाइन्सको जहाज प्राविधिक परीक्षणका लागि उडेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता जसोदा सुवेदीले जानकारी दिए ।
'जहाजमा कुनै खराबी आएर नभई निश्चित घण्टा उडेपछि नियमित तालिका अनुसार गर्नुपर्ने प्राविधिक परीक्षणका लागि पोखरा आउन लागेको थियो,' उनले भने, 'पोखरामा रहेको सुविधासम्पन्न ह्याङ्गरमा राखेर जहाज परीक्षण गर्न एयरलायन्सका कर्मचारी र प्राविधिकहरू जहाजमा सवार थिए ।'
काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ । काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको ९ एन-एएमई जहाज बुधबार बिहान ११ बजेर १५ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको हो ।
दुर्घटनामा को-पाइलट एस कटुवाल, एयरलाइन्सका कर्मचारीहरू अमितमान महर्जन, सागर आचार्य, दिलीप बर्मा, मनुराज शर्मा, आश्विन निरौला र सुदीपलाल जोशीको मृत्यु भएको छ । यसैगरी, दुर्घटनामा सौर्य एयरलाइन्सकै कर्मचारीहरू सर्वेश मरासिनी, श्याम विन्दुकर, नवराज आले, राजाराम आचार्य, प्रिजा खतिवडा, अधिराज शर्मा, उद्धव पुरी, यज्ञप्रसाद पौड्याल, सन्तोष महतो, पुन्यरत्न शाही र आरेफ रेडाको पनि मृत्यु भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
जहाजका पाइलट मनिषरत्न शाक्यको भने जीवितै उद्धार गरिएको छ । शाक्यको सिनामंगलस्थित केएमसी अस्पतालमा उपचार भइरहेको छ ।
