Logo

२०८३, श्रावण २२ गते | Aug 07 2026

झापामा हात्तीको सङ्ख्या तेब्बर वृद्धि

झापामा हात्तीको सङ्ख्या तेब्बर वृद्धि

सोमवार, श्रावण २८ २०८१
सोमवार, श्रावण २८ २०८१
  • झापामा पछिल्लो समय परम्परागत (रैथाने) हात्तीको संख्या वृद्धि हुँदै गएको छ ।

    पछिल्लो पाँच वर्षयता झापामा परम्परागत हात्तीको संख्या झण्डै तेब्बर भएको डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईले जानकारी दिए । उनका अनुसार २०७५ सालमा १०-१२ को संख्यामा हात्ती रहेकामा हाल उक्त संख्या ३० भन्दा धेरै छ ।

    'भारतबाट खानाको खोजीमा नेपाल प्रवेश गर्ने हात्ती यतै बस्न थालेपछि परम्परागत हात्तीको संख्या बढ्दै गएको छ', उनले भने, 'आहाराकै लागि हात्तीको बसोबास बढेको छ ।' गत वर्ष सुक्ष्म रूपमा अध्ययन गर्दा हात्तीको संख्या वृद्धि भएको पाइएको उनको भनाइ छ । पहिला निश्चित क्षेत्रमा मात्र देखिने गरेका हात्ती हाल जिल्लाभर देखिन थालेको छ ।

    झापामा धान, मकैलगायत बालीको जोन–सुपरजोन घोषणा भएपछि हात्तीबाट जनधनको क्षति बढ्दै गएको उनको भनाइ छ । 'यसअघि कहिलै नपुग्ने ठाउँमा हात्ती पुगिरहेको छ', उनले भने, 'महिनैपिच्छे फल्ने गरी मकैखेती हुन थालेको छ, यसले गर्दा हात्तीको उप्रदो बढेको छ ।'

    हात्तीले प्रयोग गर्ने जैविकमार्गमा पुल, सडकलगायत संरचना निर्माण भएपछि हात्तीले बाटो परिवर्तन गर्दा बढी क्षति हुने गरेको छ । हात्तीले बाटो परिवर्तन गर्ने क्रममा गाउँबस्ती प्रवेश गर्दा जनधनको बढी क्षति हुने गरेको कार्यालय प्रमुख राईले बताए । मानव–हात्ती द्वन्द्व नियन्त्रणका लागि विशेष गुरुयोजना बनाउनुपर्नेमा उनले जोड दिए । 'मानव–हात्ती सहअस्तित्वका लागि चरणबद्ध तरिकाले अघि बढ्नुपर्ने देखिन्छ', उनले भने, 'हात्ती नियन्त्रणका लागि गुरुयोजना छैन, तीनै तहको सरकारले यस विषयमा विशेष ध्यान दिन जरुरी छ ।'

    हात्ती समस्या कम गर्न प्रकृति संरक्षण कोषसँग पहल गरिरहेको उनले बताए । हात्ती समस्या कम गर्न प्रदेशभरको योजना निर्माण भइरहेको सुनाउँदै उनले भने, 'हात्ती प्रभावित क्षेत्रको पहिचान गरी स्थानीयवासीको सामूहिक बीमा, बाली बीमा, भौतिक संरचनाको बीमा गर्न सकिए मानिस ढुक्क भएर बाँच्ने वातावरण हुने थियो ।' हात्तीले छावा जन्माउने–हुर्काउने कार्य गरिरहेको पनि झापामा परम्परागत हात्तीको संख्या वृद्धि भएको कार्यालयका वन अधिकृत देवेन्द्र उप्रेतीले बताए । 

    हात्तीलाई वनजंगलभित्रै राख्न पछिल्लो समय हात्ती आहाल, हात्तीलाई मनपर्ने फलफूल तथा बोटबिरुवा लगाउने कार्य भइरहेका छन् । झापाका विभिन्न वन परिसरमा गत वर्ष मात्रै जंगलमा आठवटा हात्ती आहाल निर्माण गरिएको छ । वनक्षेत्रमा हात्तीले मन पराउने नौ हजार नौ सय ६९ वटा बाँस र छ हजार हात्तीफलको बिरुवा रोपिएको डिभिजन वन कार्यालयका सूचना अधिकारी अञ्जना पुरीले जानकारी दिइन् । वनमा केराका बिरुवासमेत रोपिएको छ ।

    झापामा आर्थिक वर्ष २०६७/६८ देखि आर्थिक वर्ष २०८०/८१ सम्म ६७ जनाको हात्तीको आक्रमणबाट मृत्यु भएको छ । मृत्यु भएका मानिसमध्ये सात जना गैरनेपाली छन् । सो अवधिमा चार हजार पाँच सय हात्तीपीडितलाई नौ करोड रुपैयाँ राहत वितरण गरिएको कार्यालयले जनाएको छ । झापामा रहेका परम्परागत हात्तीमध्ये १० को नामकरण गरिएको छ । झापामा रहेका हात्तीको सुनौलो दाँते जग, घुमन्ते युव गज, कानदुले गज, घुमन्ते राज गज, तालबेताल गज, जलथले गज, ठुटे अञ्जु गज, सेते गज, एकदाह्रे सानी गज र रङ्गे गज नामकरण गरिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to shakriyakhabar.com  | Site By : SobizTrend