Logo

२०८३, श्रावण २२ गते | Aug 07 2026

नारायणगोपालको संस्मरण, डायरी र चिट्ठीहरूको पुस्तक प्रकाशन हुने

नारायणगोपालको संस्मरण, डायरी र चिट्ठीहरूको पुस्तक प्रकाशन हुने

मंगलवार, श्रावण २२ २०८१
मंगलवार, श्रावण २२ २०८१
  • स्वरसम्राटको उपाधिले परिचित नेपाली सङ्गीतका सर्वाधिक लोकप्रिय र कालजयी गीतहरूका गायक एवं सङ्गीतकार नारायणगोपालका डायरी, संस्मरण र चिट्ठीहरूको पुस्तक प्रकाशन हुने भएको छ ।

    कोषका कार्यकारी अध्यक्ष दीपक केसी र बुकहिलबीचको सम्झौतापत्रमा हस्ताक्षर गर्दै सो जानकारी दिइएको हो ।

    नारायणगोपाल बितेको ३४ वर्षपछि उनकै निवासमा प्राप्त भएका ती सामग्रीलाई पुस्तकको रूपमा प्रकाशन गर्न लागिएको हो । सोमबार नारायणगोपाल सङ्गीत कोषका कार्यकारी अध्यक्ष दीपक केसीले नारायणगोपालबारे उत्खनन गर्दा यी सामग्रीहरू भेटिएको बताए ।

    'नारायणगोपाल मार्ग र चोकको नाम पनि मैले नै राख्ने सौभाग्य पाएँ । पछि सालिक पनि मेरै सक्रियतामा स्थापना भयो । अहिले भवन पनि मेरै सक्रियतामा बन्दै छ । उहाँका संस्मरण र चिट्ठीहरूको पुस्तक पनि मेरै खोज-अनुसन्धानमा प्रकाशन गर्न लेखेको रै'छ,' उत्खनन गर्दा फेला परेका सामग्रीलाई प्रकाशक बुकहिल पब्लिकेसनका अध्यक्ष भूपेन्द्र खड्कालाई हस्तान्तरण गर्दै उनले बताए ।

    नारायणगोपालकी अर्धाङ्गिनी पेमला गुरुवाचार्यको निधन भएको करिब दुई दशकपछि भेटिएका ती डायरी र चिट्ठीहरूले २०१५ सालदेखि २०३५ सम्मको नारायणगोपालको व्यक्तिगत जीवनका साथै सङ्गीत जीवन र नेपालको सामाजिक-राजनीतिक अवस्थाबारे उहाँका अनुभवहरूलाई पाठकमाझ प्रस्तुत गर्नेछन । नारायणगोपाल सङ्गीत कोषसँगको सहकार्यमा बुकहिलले प्रकाशन गर्न लागेको यो पुस्तकमा उहाँको जीवनका केही आश्चर्यजनक रहस्यहरूसमेत समावेश हुनेछन् ।

    साथै, आजसम्म सार्वजनिक नभएका तस्वीरहरू पनि सो पुस्तकमा समावेश हुनेछन् । पुस्तकलाई प्रथम पुरुष शैलीमै प्रकाशन गरिनेछ । 'भूपेन्द्रजी, रेडियोकर्मीका साथै सङ्गीतका मर्म बुझ्ने पनि हुनुहुन्छ । साथै, पत्रपत्रिकामा नारायणगोपालबारे लेख लेख्नुभयो । त्यसैले यस पुस्तकको प्रकाशनमा उहाँले जत्तिको न्याय अरूले गर्न नसक्ने ठानेर हामीले उहाँलाई नै प्रकाशनका लागि अनुरोध गरेका हौँ,' अध्यक्ष केसीले भने । केसीकै नेतृत्वमा नारायणगोपालको सपना 'नारायण-पेमला गीत-गङ्गा' भवन निर्माण भइरहेको छ । साथै, सो भवनमा एउटा सुविधासम्पन्न रेकर्डिङ स्टुडियो पनि बन्दै छ ।

    साथै, सो भवनमै खानाका सौखिन नारायणगोपालका मनपर्ने परिकारको रेस्टुरेन्ट सञ्चालन गर्ने लक्ष्य पनि रहेको केसीले बताए ।

    नारायणगोपालको इच्छाबमोजिम वाद्यवादनमा नयाँ जनशक्ति उत्पादन गर्ने उद्देश्यले लामो समयदेखि नारायणगोपाल सङ्गीत कोषका सङ्गीत निर्देशक सङ्गीतकार एवं भायोलिनवादक राजकुमार श्रेष्ठले नयाँ विद्यार्थीलाई प्रशिक्षण दिँदै आएका छन् । 

    यस्ता बहुप्रतिभाशाली सङ्गीतका नक्षेत्र नारायणगोपालका संस्मरणमार्फत नेपाली सङ्गीत जगत्‌का नयाँ तथ्यलाई पाठकमाझ साझीकरण गर्न पाएकोमा प्रकाशन संस्था बुकहिलले खुसी व्यक्त गरेको छ । पुस्तक आउँदाे १९ मङ्सिरमा नारायणगोपाल स्मृति दिवसका दिन लोकार्पण गर्ने तयारी भएकाे छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to shakriyakhabar.com  | Site By : SobizTrend