बुधबार, जेष्ठ २ २०८१

छोरा नजन्माउँदा घरनिकाला भइन् महिला

छोरा नजन्माउँदा घरनिकाला भइन् महिला


  • सावित्रा देवकोटा
  • आइतबार, साउन १० २०७८

  • गरिबीको रेखामुखी रहेको एक परिवारमा ४ जना सन्तानमध्ये उनी पहिलो सन्तान थिइन् । घरको सबै जिम्मेवारी वहन गर्ने उनको बुवा उनी १० वर्षको नहुँदै बित्नुभयो ।

    गर्भमै टुहुरो भएको उनको कान्छो भाइ र २ बहिनीको साथै घरको सम्पूर्ण जिम्मेवारी उनीमाथि आइप¥यो । उनी पढाइ छोडेर गाउँकै जमिनदारकोमा काम गर्न थालिन् । उनलाई त्यहाँ विभिन्न बहानामा कुटपिट गरिन्थ्यो । उनी ‘नखाउ भने दिनभरिको सिकार, खाउँ भने कान्छा बाको अनुहार’ भनेजस्तै भएकी थिइन् ।

    एकदिन अचानक उनलाई घर बोलाउन आमा आफैँ जानुभएछ । उनी ३ वर्षपछि घर जान पाउँदा निकै खुसी हुँदै गइन् । उनी घर पुग्दा उनको बिहे पक्का भएर दही ठेकी लाउन आएको कुरा थाहा पाइन् । उनी अलमल्ल पर्दै आमा सँग म अहिले बिहे गर्दिन भन्दै रुन थालिन् । उनको आमाले नानी तिमी भाइबहिनीले धेरै पढेको हेर्न चाहन्छौ भने बिहे गर भन्नुभएछ । यो सुनेर उनी निशब्द भइन् ।

    उनले बिहे गर्नुअगाडी आफ्नो आमा, भाइबहिनीलाई पाल्नुपर्छ भन्ने वाचा खुवाएर मात्र बिहे गरिन् । उनको श्रीमान्ले उसको वाचा पूरा गरे । उनले पहिलो सन्तान छोरी जन्माउँदा सबैजना खुशी नै थिए तर उनको सासूआमा नाती होस् भन्ने आशामा थिइन् । त्यसैले उनीले धेरै पटक गर्भमै हुँदा छोरा/छोरी के छ भनी छुट्याई छोरी रहेछ भने गर्भमै फालिदिने गरेकी थिइन् ।

    यसरी पाँच पटक सम्म जचाउँदा पनि छोरी भएपछि सासूले उनलाई नै दोष दिने र विभिन्न हिंसात्मक क्रियाकलाप हुँदै आएको रहेछ । तर उनीले श्रीमान्को साथ पाएकी थिइन् । उनको श्रीमान् छिमेकी देश भारतमा काम गर्न जान्थे । श्रीमान् भारत गएको समयमा अन्तै लागेकी भन्दै उनको चरित्र माथि विभिन्न आरोप लगाइन्थ्यो । उनको श्रीमान्लाई सासूआमा र आमाजु दिदिले यस्ता नराम्रा कुराहरु सुनाएर उनीबाट टाढा बनाएका थिए ।

    उनको श्रीमान् भारतबाट फर्किएपछि उनीमाथि विभिन्न हिंसात्मक क्रियाकलाप गर्नुका साथै घाँटी थिचेर मार्ने सम्म प्रयत्न गरियो । भोलिपल्ट उनले सबै गाउँलेलाई बोलाएर यो कुराहरु भनिन् तर उनको श्रीमान्ले आफ्नो भाइबहिनीको माया छ भने यो सबै झुटो हो भन भनी उनलाई दबाव दिए । तर उनी निडर भई सबै साँचो कुरा भनिन् । महिलालाई कमजोर र लाचार सम्झिने यो समाजमा कसले उसको पिडा बुझ्थ्यो र ! उल्टै उसलाई नै दोषी ठहराइयो । अबदेखि यस्तो नगर्ने भनी मिलाई पत्र गराइयो ।

    छोराको आशा बोकेको उसको परिवारले धामी झाँक्रीलाई देखाउन थाले । त्यहाँ पनि उसलाई नै दोषी देखाएर अब अर्को बिहे गर्नुपर्छ भनी सल्लाह दिइयो । उसले छोरा नजन्मिनुमा मेरो होइन, श्रीमान्को दोष छ भन्थिन् । यो कुरा उसको परिवारले मान्नुभएन ।

    उनको परिवारले उसलाई डिभोर्सको लागि दिनदिनै दबाव दिन थाले । उसले डिभोर्स दिन नमानेपछि उसलाई चोरीको आरोपमा घरनिकाला गरियो । उसलाई जग्गा बेचेको २ लाख रुपिँया र २ तोला सुन चोरेर भागेको आरोपमा जेल चलान गरियो । यो कुरा उसको बहिनीमार्फत् एक महिला अधिकारकर्मी सामु पुगेछ । त्यसपछि त्यो महिला अधिकारकर्मीले यो सम्बन्धि गोप्य अनुसन्धान गरिन् र यो सबै आरोप झुट हो, छोरा नजन्माएको भनी घर निकाला गर्ने एउटा बहाना मात्र हो भनी प्रमाणित गर्न सफल भइन् ।

    अहिले उसको श्रीमान्, सासूआमा र आमाजु दिदिलाई कानुनी कारवाही गरी उसलाई रिहा गरियो । उनी अहिले सिलाई कटाई गरी आफ्नो छोरीलाई क्याम्पसमा पढाइरहेकी छिन् ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार