बिहिबार, जेष्ठ ३ २०८१

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन आजदेखि सुरु हुँदै

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन आजदेखि सुरु हुँदै


  • सक्रियखबर
  • आइतबार, कार्तिक २० २०७९

  • जलवायुसम्बन्धी सम्मेलनको २७औँ संस्करण आजदेखि इजिप्टमा सुरु हुँदैछ ।

    कोप–२७ सम्मेलन इजिप्टको सार्म एल–शेख सहरमा हुन लागेको हो । यो सम्मेलनमा पक्ष राष्ट्रहरूले जलवायु परिवर्तनको विश्वव्यापी चुनौतीलाई प्रभावकारी रूपमा सामना गर्ने विषयमा  केन्द्रित रहने संयुक्त राष्ट्र सङ्घीय वातावरण कार्यक्रमले जनाएको छ ।

    आउँदो नोभेम्बर १८ तारिख अर्थात् मङ्सिर २ गतेसम्म चल्ने सम्मेलनमा जलवायु परिवर्तनले निम्त्याएको विश्वव्यापी नोक्सानीका विषय मुख्य कार्यसूचीमा रहेको छ । सम्मेलनले जलवायु परिवर्तन, मरुभूमीकरण र पानीको अभावले बढ्दै गएको खाद्य सुरक्षा सङ्कटलगायतका विषय प्राथमिकताका साथ उठाउने छ ।

    सम्मेलनमा नेपालले हिमाली क्षेत्रका मुद्दा तथा कृषि र खाद्य सुरक्षाको विषयलाई प्राथमिकताका साथ उठाउनेछ । सम्मेलनमा प्रस्तुत गर्नको लागि अवधारणपत्र तयार गरेको र त्यसमा हिमाली क्षेत्रका मुद्दा तथा कृषि र खाद्य सुरक्षाको विषयलाई प्राथमिकताका उल्लेख गरेको वन तथा वातावरण मन्त्रालय अन्तर्गत जलवायु परिवर्तन व्यवस्थापन महाशाखाका प्रमुख तथा सहसचिव डा. बुद्धिसागर पौडेलले जानकारी दिनुभयो । कोप–२७ मा नेपालले पर्वतीय मुद्दामा नेतृत्व गर्नेछ ।

    विश्वका उस्तै समस्या भएका पर्वतीय देशहरुसँग सहकार्य रणनीति बनाउन नेपालले गएको सेप्टेम्बरमा मुस्ताङ पैरवी सम्मेलन आयोजना गरी विशेष घोषणापत्र जारी गरेको थियो । यस्तै, नेपालले जलवायु कोषहरूमा नेपालको सरल तथा सहज पहुँच हुनुपर्ने र नेपालले अनुकूलन, उत्थानशीलता तथा हरित विकासको अवधारणा प्रवर्द्धनमा प्रदान गरिने वित्त अनुदानको रूपमा आउनुपर्ने निश्चितताबारे पनि पैरवी गर्नेछ ।

    सम्मेलनमा पृथ्वीको तापक्रम वृद्धि एक दशमलव पाँच डिग्री सेल्सियसमा कायम गर्ने विषयमा विश्वका सबै राष्ट्रहरू एक्यबद्ध हुने अपेक्षा गरिएको छ ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार