Logo

२०८३, कार्तिक १३ गते | Oct 29 2026

बाँकेकाे नरैनापुरमा पानीको कमीले चारजनाको मृत्यु भएको पुष्टि

बाँकेकाे नरैनापुरमा पानीको कमीले चारजनाको मृत्यु भएको पुष्टि

मंगलवार, भाद्र १८ २०८१
मंगलवार, भाद्र १८ २०८१
  • शरीरमा पानीको कमीले एकै परिवारका तीनसहित चार जनाको मृत्यु भएको पुष्टि भएको छ ।

     स्वास्थ्य कार्यालय बाँकेका सूचना अधिकारी एवं महामारी रोगका ‘फोकल पर्सन’ नरेन्द्र श्रेष्ठले नरैनापुर गाउँपालिका–३ स्थित गेग्ली गाउँमा एकै परिवारका एक बालकसहित चार जनाको शरीरमा पानीको कमी भएकाले मृत्यु भएको जानकारी दिए ।

    'मृतकका परिवारले स्वास्थ्यकर्मीलाई दिएको रोगको लक्षणका आधारमा जिल्ला स्वास्थ्य कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनका अनुसार झाडापखालाका कारण शरीरमा पानीको मात्रा कमी हुनाले ७२ घण्टामा चार जनाको मृत्यु भएको हो', श्रेष्ठले भने ।

    नरैनापुर गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख नागेन्द्र शाहले भने, 'हामीले मृतकको उपचार गर्न समय पाएनौँ । मृतकका आफन्तका अनुसार मृतक चारै जनालाई झाडापखाला भएको समयमा जीवनजललगायत अन्य झोलिलो पिउने पदार्थको अभाव भएको थियो ।'

    स्वास्थ्य कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनमा झाडापखाला भई शरीरमा पानीको मात्रा कमी भएकाले निजहरूको मृत्यु भएको पुष्टि गरेको उनले बताए ।

    यही भदौ १४ देखि फैलिएको झाडापखाला महामारीका रूपमा भने नरहेको स्वास्थ्य शाखाका प्रमुख शाहले जानकारी दिए । नरैनापुर–३ स्थित गेग्लीका श्यामलाल पासीको घरमा पहिलोपटक झाडापखालाको सङ्क्रमण देखिएको थियो । उनका अनुसार ज्वरो आउने, पेट दुख्ने, टाउको दुख्ने र एकदिनमा तीनदेखि चार पटकसम्म पातलो दिसा भएकाले शरीरमा पानी अपुग हुन गई पासीको एकैघरका तीन जनाको मृत्यु भएको हो ।

    स्वास्थ्य शाखा प्रमुख शाहले मृतकलाई आफन्तले बिरामी हुँदा भारतीय क्लिनिकमा उपचार गराएको र सोही क्रममा मृत्यु भएको जानकारी दिए । मृत्यु भएपछि मात्रै जिल्ला स्वास्थ्य कार्यालयलाई जानकारी प्राप्त भएको उनले बताए ।

    शाहले गेग्लीमा एकैदिनमा झाडापखालाबाट कसैको पनि मृत्यु नभएको जानकारी दिँदै भने, 'एकै परिवारका ७५ वर्षीय शान्ति पासी, उहाँकी २६ वर्षीया बुहारी उषा पासी र सोही परिवारकी एक वर्षकी नाबालिकाको क्रमशः भदौ १४, १५ र १६ गते मृत्यु भएको हो ।'

    स्वास्थ्य शाखा प्रमुख शाहले मृतकका आफन्तले समयमा उपचार नगराएका भन्दै परिवारको लापरबाहीका कारण चार जनाको ज्यान गएको बताए । 'समयमै जाँच गरेको भए रोग पहिचान भइएर उपचार हुन्थ्यो', उनले भने, 'परिवारको लापरबाहीले गर्दा अकालमा ज्यान गएको छ । चेतनाको कमीले गर्दा यस्तो घटना भएको हो ।'

    नरैनापुरमा भेटिएका झाडापखालामा हैजाजन्य किटाणु नभएको भेरीमा उपचाररत बिरामीको जाँचबाट खुलेको स्वास्थ्य शाखा प्रमुख अङ्गत शाहीले जानकारी दिए । गाउँपालिकाले गाउँमा स्वास्थ्य शिविर सञ्चालन गरी पानी शुद्धीकरणका लागि आवश्यक औषधि वितरण गरेको छ । भेरी अस्पतालमा दैनिक झाडापखालाका पाँच/छ जना बिरामी आउने गरेका अस्पतालका डा. प्रकाशबहादुर थापाले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to shakriyakhabar.com  | Site By : SobizTrend