Logo

२०८३, मंसिर ३ गते | Nov 19 2026

बागलुङ पहिरोमा परि आठ जनाको मृत्यु

बागलुङ पहिरोमा परि आठ जनाको मृत्यु

मंगलवार, श्रावण २२ २०८१
मंगलवार, श्रावण २२ २०८१
  • बागलुङमा पहिरोले पुरिँदा आठ जनाको ज्यान गएको छ ।

    मंगलबार बिहानको बागलुङको बडिगाड गाउँपालिका–१० आरुपाटाका ६ जना र बडिगाड–९ बलघाँसमा २ गरि आठ जनाको ज्यान गएको बागलुङ प्रहरीले जानकारी दिएको छ ।

    पहिरोमा दुई जना बेपत्ता छन् भने १० जना घाइते भएका छन् । सडक संजाल अवरुद्ध रहेको र मौसमको प्रतिकूल अवस्थाको कारण हवाई उद्धार समेत हुन नसकेकोले स्थानीय स्वास्थ्य चौकीमा उनीहरूको उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

    प्रहरीका अनुसार बडिगाड–१० आरुपाट बस्ने बर्ष ७ की मालती बुढा, ७ वर्षिया मधु बुढा, ६ महिनाकी बालिका, वर्ष १२ का मनोज बुढा, वर्ष १२ का अमन बुढा र बर्ष ५९ की मैतीदेवी बिको पहिरोमा परेर मृत्यु भएको छ ।  

    त्यस्तै बडिगाड–९ बलघाँसका १५ वर्षीय बिदान परियारको पनि पहिरोमा परेर ज्यान गएको छ। पहिरोले स्थानीय श्याम परियारको घरलाई पुरेको थियो, त्यही पहिरोमा परेर छोरा विदान परियारको ज्यान गएको प्रहरीले जनाएको छ ।  

    त्यसैगरी बडिगाड–९ दर्लिङ काभ्राखर्कका २४ वर्षका गंगा बस्नेतको पहिरोले पुरिएर ज्यान गएको छ । बाटोमा हिँडिरहेका उनलाई माथिबाट पहिरो खसेर पुरेको प्रहरीले जनाएको छ ।  

    प्रहरीका अनुसार बुर्तिबाङबाट करिब ४० किलोमिटर टाढाको उक्त गाउँमा बिहान ११ बजेतिर पहिरो झरेको थियो । बिहान घटना भएपनि बाटोको असहजता र ठाउँठाउँमा पहिरो झरेकोले दिउँसो चार बजे मात्र प्रहरी घटनास्थल पुगेको थियो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to shakriyakhabar.com  | Site By : SobizTrend