Logo

२०८३, श्रावण २२ गते | Aug 07 2026

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिँदै

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिँदै

शुक्रवार, श्रावण १८ २०८१
शुक्रवार, श्रावण १८ २०८१
  • सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबादुर सोडारीले आज प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन् ।

    उनले विश्वासको मत लिने प्रयोजनका लागि बुधबार नै प्रदेशसभामा पत्र पठाइसकेका छन् । सोहीअनुसार आज बस्ने प्रदेशसभाबाट उनले विश्वासको मत लिन लागेका हुन् ।

    विश्वासको मत लिन लागे पनि उनी नेतृत्वको सरकार ढल्ने निश्चित जस्तै देखिएको छ । केन्द्रमा सत्ता समीकरणमा आएको फेरबदलको प्रभाव प्रदेशमा पर्दा सोडारी नेतृत्वको सरकार संकटमा परेको हो ।

    एमालेले सोडारीलाई दिएको समर्थन फिर्ता लिएसँगै उनी नेतृत्वको सरकार २० असारमा अल्पमतमा परेको हो । उनलाई अब आफ्नो पार्टी एकीकृत समाजवादीका ४ र माओवादी केन्द्रका १० (सभामुखबाहेक) को मात्र समर्थन छ । त्यस्तै एक जना स्वतन्त्र सांसदको समर्थन पनि उनले पाउने सम्भावना देखिएको छ ।

    यसरी हेर्दा अहिलेसम्म उनको पक्षमा जम्मा १५ सांसद पुग्न सक्ने छन् । तर, ५३ सांसद रहेको प्रदेशसभामा उनले विश्वासको मत पाउन कम्तिमा २७ सांसदको आवश्यकता पर्दछ । यता कांग्रेसका १८ र एमालेका ११ सांसद भने उनको विपक्षमा देखिएका छन् । यो संसदीय अंकगणितका कारण सोडारी नेतृत्वको सरकार ढल्ने लगभग पक्कापक्की छ ।

    एमालेले समर्थन फिर्ता लिएसँगै अल्पमतमा परेका सोडारीले राजीनामा दिन आनाकानी गरिरहेका थिए । विपक्षी दलहरूले उनलाई यसअघि नै राजीनामा दिन दबाब दिए पनि उनले संवैधानिक व्यवस्था देखाउँदै दिएका थिएनन् । संविधानमा कुनै दलले सरकारलाई दिएको समर्थन फिर्ता लिए त्यसको १ महिनासम्म विश्वासको मत लिन समय दिएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to shakriyakhabar.com  | Site By : SobizTrend